दाङ, २८ असार ।
दाङमा मृगौलाका बिरामीलाई डायलायसीसमा समस्या देखिएको छ । बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति र मेसिनको अभाव हुँदा डायलायसीसमा समस्या देखिएको हो ।
तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालसहित घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमहीको देउखुरी सामुदायिक डायलायसीस सेन्टरबाट मृगौलाका बिरामीले डायलाइसीस सेवा लिने गरेका छन् । तर पछिल्लो समय बिरामीको चाप बढेकोले बिरामीले पालो पाउन नसक्ने अवस्था देखिएको राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बिनोद सिंहले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा बिरामीको चाप अनुसार मेसिनको अभाव छ । अस्पतालमा अहिले महिनाभरी सेवा लिने बिरामीको संख्या २४ रहेको छ । तर मेसिन अभावमा बिरामीले पालो कुर्नुपर्ने वा सेवा लिन जिल्ला बाहिर जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले यसपटक १० वटा मेसिन थप गर्ने निणर्य गरेको पनि मेसु डाक्टर सिंहले जानकारी दिनुभयो ।
जिल्लामा मृगौला फेल भएका बिरामीले डायलाइसीस सेवा लिन नसक्ने अवस्था बन्दै गएको छ । बिरामीको चाप अनुसार मेसिको अभाव, ठाउँको अभाव, जनशक्तिको अभाव जस्ता कारणले डायलाइसीस सेवा जटिल बन्दै गएको छ ।
जिल्लाभित्र पालो नपाउँदा जिल्ला बाहिर सेवा लिन जानुपरेको तुलसीपुर-५ का राजन नेपालीले बताउनुभयो । उहाँले डायलाइसीसका लागि नेपालगञ्ज जानुपर्ने अवस्था रहेको बताउनुभएको खबर नयाँ युगबोध राष्ट्रिय दैनिका दशरथ घिमिरेले खबर लेख्नुभएको छ ।