२०८१ फाल्गुन २ गते शुक्रवार

देशका अधिकांश भूभागमा आज पनि मौसम बदली रहने



दाङ, २८ असार ।
दाङसहित देशका अधिकांश ठाउँमा मौसममा बदली रहने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विशेषगरी ४ प्रदेशमा मौसम बदली भइ वर्षा हुने अनुमान गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।

देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । यस्तै देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार