
दाङ, ११ साउन ।
आगामी मङ्सिरमा चुनाव गर्ने भनिएपनि सरकारले मिति तोक्नमा ढिलाइ गरिरहेको छ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर४ वा ५ गतेको लागि एकैचरणमा निर्वाचन गर्ने गरि मिति तोक्न अनुरोध गरेको थियो ।
निर्वाचन हुनु १ सय २० दिन अघि मिति तोकिसक्नुपर्ने प्रावधान भएपनि हालसम्म मिति नतोक्दा मङ्सिरमा नै चुनाव हुने कुरामा अन्यौलता बढेको छ ।
सत्ता गठबन्धनमा फागुनको पहिलो साता निर्वाचन गर्ने गरि छलफल सुरू भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि फागुनमा चुनाव सार्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने सरकारले आगामी मङ्सिर४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने दावी गर्नुभएको छ । हिजो आयोगले गरेको पत्रकार सम्मेलनमा थपलियाले अब बस्ने मन्त्रिपरिषद बैठकले सो मिति तोक्ने अपेक्षा गर्नुभयो ।