दाङ, १३ साउन ।
दाङमा माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७८ नतिजामा सामुदायिक विद्यालय कमजोर देखिएका छन् । उत्कृट जिपिए ल्याउनेमा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालय देखिएका हुन् ।
एसईईमा दाङमा संस्थागत विद्यालयबाट तीन जना उत्कृष्ट भएका छन् । एसइईको बुधबार सार्वजनिक नतिजा अनुसार जिल्लामा संस्थागत विद्यालयका तीन जनाले ३ दशमलव ९५ जिपिए अर्थात ए प्लस ल्याएर उत्कृष्ट भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई केन्द्र दाङका अनुसार जिल्लामा यसवर्षको एसईईमा दुई विद्यालयका तीन विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका छन् । तुलसीपुरमा रहेको ज्ञानज्योति माविका दुई जना र गोर्खा मावि घोराहीका एक जना गरी तीन जनाले उत्कृष्ट जिपिए ३ दशमलव ९५ प्राप्त गरेका हुन् ।
उत्कृष्ट जिपिए प्राप्त गर्नेमा तुलसीपुरको ज्ञान ज्योतिका सुवास वली र रिक्कीबाबु शर्मा , घोराहीको गोरखा माविका उत्सव घिमिरे रहेका छन् ।
दाङमा उत्कृष्ट जिपिए ल्याउनेमा सामुदायिक विद्यालयतर्फ गुरुजजुर मावि रक्षाचौर र पद्मोदय मावि घोराही रहेका छन् । गुरुजजुर माविबाट शैलेश शर्माले ३ दशमलव ९० जिपिए अर्थात ए प्लस ल्याएका छन् भने घोराहीको पद्मोदयबाट ३ दशमलव ७५ ल्याउनेमा आदित्य मिश्र र ३ दशलमव ७० जिपिए ल्याउनेमा ओम नारायण झा रहेका छन् ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।