दाङ, १८ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म कक्षा ११ मा विद्यार्थी भर्ना हुने व्यवस्था मिलाउन विद्यालय तथा शिक्षणसंस्थाहरुलाई निर्देशन दिएको छ ।
बोर्डले आज सूचना जारी गरेर छोटो समय मात्र म्याद राखेर भर्ना आव्ह्रान गर्दा दुर्गम क्षेत्रका विद्यार्थी आवेदन दिने अवसरबाट वञ्चित हुने जनाएको छ । बोर्डले स्थानीय तहरुलाई कक्षा ११ को भर्नामा समन्वय र सहजीकरण गरी कक्षा सञ्चालनलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेको छ ।
दुर्गमका विद्यार्थी भर्ना आवेदन दिने अवसरबाट वञ्चित भएको भनी बोर्डमा प्राप्त गुनासाहरुका सम्बन्धमा बोर्डको ध्यानार्कषण भएको छ सूचनामा भनिएको छ ।
साउन ११ गते एसईईको नतिजा सार्वजनिक गरिएको थियो । कतिपय विद्यालय र शिक्षणसंस्थाले प्रि–रजिस्ट्रेसनको नाममा विद्यार्थी भर्ना गरिसकेका छन् भने कतिपयले आवेदन दिने म्याद सकिएको भन्दै प्रवेश परीक्षा सञ्चालन गरिरहेका छन् ।