दाङ, २५ साउन ।
प्रक्रिया मिचेर अध्ययनबिनै कर्मचारीको सरकारले तलब बढाउने तयारी गरेपछि नायव सुब्बा र त्यो भन्दा तल्लो तहका कर्मचारी आन्दोलित छन् । उनिहरुले आज दाङसहित देशभरका सरकारी कार्यालय एक घण्टा पेन डाउन गर्ने भएका छन् ।
सरकारले तल्लो तहका कर्मचारीको १५ प्रतिशत र माथिल्लो तहमा २४ प्रतिशत वृद्धि गर्ने भएपछि तलब असमानरुपमा वृद्धि गरेको भन्दै कर्मचारी आन्दोलित बनेका छन् ।
सरकारलाई दवावस्वरुप आज बिहान १० देखि ११ बजेसम्म एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारीले बताउनुभयो । अर्थमन्त्रालयले साउन १ गतेदेखि लागु हुनेगरी अधिकृतस्तर भन्दा माथिका राजपत्रांकित कर्मचारीलाई २४ प्रतिशत र त्यसभन्दामुनिका कर्मचारीलाई १५ प्रतिशत तलव बढाउने निणर्य गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।
माथिल्लो तहका कर्मचारीलाई तलब बढाएको विरोध नभई तल्लो तहमा पनि माथिल्लो तहको अनुपातमा तलब बढ्नुपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो । बिहान एक घण्टा सेवा रोकिएपनि दिउँसो खाजाको समयमा काम गर्ने उहाँले बताउनुभयो ।
यसैबिच निजामति कर्मचारी संघ-संगठनले माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।
नेपाल निजामति कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसी, नेपाल निजामति कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारी र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति दाङका अध्यक्ष रुद्रमनी पौडेलले संयुक्तरुपमा पे्रस विज्ञप्ती जारी गरी आयोग गठन गरी असमानता र विभेदकारी नीति पहिचान गरी विवाद अन्त्य गर्न माग गरेका छन् । उता कर्मचारीको विरोधपछि तलबसँग सम्बन्धित विषय आयोग गठन गरेरै टुंग्याउने निणर्यमा अर्थ मन्त्रालय पुगेको छ ।