२०८१ साउन ८ गते बुधवार

प्रादेशिक अस्पताल सेवा सुधारमा सरोकारवालाको चासो



तुलसीपुर, २६ साउन ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सेवा सुधारमा सरोकारवालाले चासो दिएका छन् । अस्पतालले आज तुलसीपुरमा आयोजना गरेको अन्तरक्रियामा सहभागी सरोकारवालाले जनशक्ति व्यवस्थापनदेखि सरसरसफाई व्यापकरुपमा सुधार गर्नुपर्ने बताएका हुन् । दाङसहित साविक राप्ती अन्चलकै बिरामीका लागि उपचार गर्ने थलोको रुपमा रहेको अस्पतालले साना-साना समस्यालाई पनि सुधार गर्न नसक्दा नागरिकमा विश्वास बढ्न नसकेको उनिहरुले बताएका छन् ।

अस्पतालको शौचालयदेखि अस्पताल परिसरमा देखिएको समस्या तत्काल सुधार गर्न सुझाव दिएका छन् । प्रादेशिक अस्पतालको व्यवस्थापन पक्ष फितलो हुँदा शौचालयको चुक्कुलसमेत बन्न नसकेको उनिहरुको भनाई छ । अस्पतालका जग्गादाता रमा धितालले अस्पताल जेष्ठ नागरिकले सहजै सेवा पाउन नसकेको गुनासो गर्नुभयो । यस्तै जग्गादाता गुरुप्रसाद लम्सालले उपचार सेवा प्रभावकारी पाउन नसक्दा सर्वसाधारण नागरिकले नीजिमा महंगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

तुलसीपुर-६ उत्तरकपडादेवी डिल्लीराज लम्साल डाक्टर दरबन्दी अभावमा बिरामीले सधैं सास्ती पाउनुपर्ने अवस्था कहिलेसम्म आउन प्रश्न गर्नुभयो । नीजि अस्पताल संचालक बिनोद शर्माले सरकारी अस्पताल गुणस्तरिय भएपछिमात्रै नीजिले लाभ लिने बताउनुभयो ।

अस्पतालका संस्थापक अध्यक्ष महादेव शाहले राप्ती प्रादेशिक अस्पताल बनाउन आफुहरुले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । अस्पतालका उपाध्यक्ष रूप बहादुर खत्रीले अस्पताललाई सेवा सुधार गर्न सबैको सल्लाह सुझाव आवश्यक रहेको बताउनुभयो । तुलसीपुर-५ का मोहनमान श्रेष्ठले अतिक्रमित जग्गा खालि गराएर अस्पतालले आफ्नो सम्पति संरक्षण गर्नुपर्ने बताउनुभयो ।

अर्का जग्गादाता कृष्णप्रसाद शर्मा जग्गादातालाई कहिले पनि नखोजिएको गुनासो गर्नुभयो । नेपाली कांग्रेसका नेता जगत खड्का राजनीतिक दलकै खिचातानीले अस्पतालको सोचेअनुरुप गतिमा सुधार हुन नसकेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता प्रेमराज वलीले अस्पताल सबैको साझा सम्पति भएकाले यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका महासचिव बिनिल केसी पुर्वाधार अनुसार जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकार शुसिल बस्नेतले सरोकारवालाको सुझावलाई एक-एक गरी पालना गर्नुपर्ने बताउनुभयो ।

पत्रकार गणेश आचार्यले प्रादेशिक अस्पतालबाट प्राप्त सेवा सुविधा नागरिकले जानकारी नपाउँदा धेरै बिरामी निजि अस्पतालमा गएको बताउनुभयो । उहाँले अतिक्रमित जग्गा फिर्ता गर्न अस्पताल व्यवस्थापन समिति तत्काल अघि बढ्नुपर्ने बताउनुभयो । त्यस अवसरमा व्यवसायी बिमल रिजाल , वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, तुलसीपुर चेम्बर अफ कमर्शका महासचिव प्रेमप्रकास गीरी, अस्पतालका पुर्व अध्यक्ष रूद्र प्रसाद शर्मा, पुर्व अध्यक्ष धुर्व आचार्यले सेवा सुधारमा सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । नगर उपप्रमुख स्यानी चौधरीले अस्पतालले सेवा सुधार गर्न ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले जनशक्ति व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार