२०८० फाल्गुन १३ गते आइतवार

रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै



दाङ २७ साउन ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर मनाइँदै छ ।आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्राध्यापक डा रामचन्द्र गौतमले बताउनुभयो ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।आजका दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।

यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्यले बताउनुभयो । नेपालको तराई क्षेत्रमा भने आजदिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइँदैछ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार