तुलसीपुर, २७ साउन ।
सरकारले शिक्षामा वर्षेनी करोडौँको लगानी गरेपनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठ्न सकेको छैन् । जनशक्तिको अभाव, अभिभावकको कम चासो, भौगोलिक विकटता, सरकारी वेवास्ता, शिक्षामा राजनीति, भौतिक संरचनाको अभाव लगायतका कारण शैक्षिक गुणस्तर माथि उठ्न नसकेको देखिएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रै शैक्षिक सुधार टिठलाग्दो देखिएको छ । नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सार्वजनिक गरेको एक तथ्यांक अनुसार सामुदायिक विद्यालयका अधिकांश बालबालिका मुख्य विषयमा नै कमजोर देखिएका छन्, अर्थात उनीहरु मुख्य विषयमा फेल हुने गरेको देखिएको छ ।
नगरका २४ विद्यालयमा नेपाली, गणित, विज्ञान र अंग्रेजी गरी चार वटा विषयमा गरिएको नमुना परिक्षामा अधिकांश विद्यार्थी कमजोर देखिएका छन् । सार्वजनिक विवरण अनुसार तीन वटा माविबाहेक अरु विद्यालयका बालबालिका मुख्य विषयमा नै कमजोर देखिएका छन् ।
चार मुख्य विषयमध्ये लगभग सबै विद्यालयका बालबालिका गणित विषयमा निकै कमजोेर देखिएका छन् । यस्तै मुख्य भाषा नेपाली भएपनि धेरै विद्यालयमा अध्ययनरत बालबालिका नेपाली विषयमा नै कमजोर देखिएको शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो । मुख्य विषयमा नै कमजोर देखिदा शैक्षिक गुणस्तर तत्काल सुधार गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको मावि प्रतापकोट अम्बासमा अध्ययनरत २५ जना विद्यार्थीमा गरिएको परिक्षामा नेपाली र विज्ञान विषयमा नै २४÷२४ जना फेल भएका छन् ।
अम्वासमा २५ जनामध्ये १÷१ जना अर्थात ४÷४ प्रतिशतमात्रै विद्यार्थी नेपाली र विज्ञानमा पास भएको तथ्य सार्वजनिक गरिएको छ । यस्तै विद्यालयमा गरिएको नमुना परिक्षामा गणित र अंग्रेजी विषयमा शत प्रतिशत फेल भएका छन् । नगरका शिक्षा महाशाखा अधिकृत भण्डारीले मावि प्रतापकोटको शैक्षिक गुणस्तर निकै कमजोर देखिएको बताउनुभयो ।
यस्तै जनकल्यान मावि दुधरासमा पनि अधिकांश विद्यार्थी मुख्य विषयमा नै कमजोर देखिएका छन् । दुधरासमा अध्ययनरत १०१ जना विद्यार्थीलाई अंगे्रजी, नेपाली, गणित र विज्ञान विषयमा गरिएको नमुना परिक्षामा समग्रमा ३५ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।
नमुना परिक्षामा मुख्य विषयमा करिब ६५ प्रतिशत विद्यार्थी फेल भएका छन् । १०१ जना विद्यार्थीमा गरिएको नमुना परिक्षामा नेपालीमा २७ भन्दा माथि ल्याउने अर्थात उतीर्ण हुने विद्यार्थी ३५ जनामात्रै रहेका छन् । जुन ३४ दशमलव ६५ प्रतिशत हो । नेपाली विषयको नमुना परिक्षामा ६६ जना विद्यार्थी फेल भएका छन् ।
यस्तै अंगे्रजीमा ३३ दशमलव ६६ प्रतिशत अर्थात ३४ जना, विज्ञानमा १८ दशमलव ८१ प्रतिशत अर्थात १९ जना विद्यार्थी उतीर्ण भएका छन् । जनकल्यान माविमा अध्ययनरत विद्यार्थी सबैभन्दा कमजोर गणितमा देखिएका छन् । विद्यालयका १०१ जनामा गरिएको नमुना परिक्षामा करिब ९६ प्रतिशत अर्थात ९७ जना विद्यार्थी अनुतीर्ण भएका छन् ।
यस्तै तुलसीपुर–७ मा रहेको मावि कालाखोलामा पनि अधिकांश विद्यार्थी गणित विषयमा कमजोर देखिएका छन् । विद्यालयका ७८ जना बालबालिकामा गरिएको नुमना परिक्षामा ७२ जना विद्यार्थी फेल भएका छन् । महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार गणित विषयको नमुना परिक्षामा ६ जना अर्थात ७ दशमलव ८ प्रतिशत बालबालिकामात्रै उर्तीण भएका छन् ।
कालाखोला माविमा विज्ञान विषयमा पनि विद्यार्थी कमजोर देखिएका छन् । १०१ जना विद्यार्थीमा गरिएको नमुना परिक्षामा १२ जना अर्थात १५ दशलवम ३८ प्रतिशतमात्रै उर्तीण भएका छन् । यस्तै अंग्रेजीमा २७ अंक भन्दा माथि ल्याउने अर्थात उतीर्ण हुनेको संख्या ४२ रहेको छ । औषतमा अंग्रेजी विषयमा ५३ दशमलव ५८ प्रतिशत र नेपालीमा ५५ दशमलव १३ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् । यस्तै तुलसीपुर–४ मा रहेको जनश्रम माविमा पनि शैक्षिक गुणस्तर सन्तोषजनक देखिएको छैन् ।
नेपाली, गणित, विज्ञान र अंग्रेजी विषयको नमुना परिक्षामा २२ प्रतिशतभन्दा कम विद्यार्थी उर्तीण भएका छन् । विद्यालयमा अध्ययनरत ५१ जनामा गरिएको नमुना परिक्षामा नेपालीमा ४०, अंग्रेजीमा ४७, गणितमा ४६ र विज्ञानमा ४८ जना विद्यार्थी फेल भएका छन् । २७ अंक भन्दा माथि ल्याउने अर्थात उतीर्ण हुने प्रतिशतका आधारमा नेपालमा २१ दशमलव ५६, अंग्रेजीमा १७ दशमलव ६५, गणितमा ९ दशमलव ८ र विज्ञानमा ७ दशमलव ४ प्रतिशत विद्यार्थी पास भएका छन् ।
गुरुजजुर र मावि सेन्टरको नतिजा सन्तोषजनक नगरमा रहेका २४ वटा माविमा गरिएको नमुना परिक्षामा तुलसीपुर–४ रक्षाचौरमा रहेको गुरुजजुर मावि र तुलसीपुर–६ मा रहेको मावि सेन्टरको नतिजा सन्तोषजनक देखिएको छ । सबैभन्दा बढी गुरु जजुर माविको नतिजा राम्रो देखिएको सार्वजनिक तथ्यांकमा उल्लेख छ । अझ सेन्टर माविको तुलनामा गुरु जजुरको नतिजा उत्कृष्ट देखिएको छ ।
मुख्य विषय गणित, नेपाली, अंग्रेजी र विज्ञान विषय २४० जनामा गरिएको नमुना परिक्षामा ३६ दशमलव ६६ प्रतिशतभन्दा बढी विद्यार्थी उर्तीण भएका छन् । गुरुजजुरमा सबैभन्दा बढी अंगे्रजीमा १७७ जना अर्थात ७३ दशमलव ७५ प्रतिशत विद्यार्थी पास भएका छन् ।
यस्तै नेपालीमा १४९ जना अर्थात ६२ दशमलव ०८, विज्ञान विषयमा ११० जना अर्थात ४५ दशमलव ८५ प्रतिशत र गणितमा ८८ जना अर्थात ३६ दशमलव ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सेन्टर माविमा पनि सबैभन्दा बढी नेपाली विषयमा विद्यार्थी अब्बल देखिएका छन् ।
सेन्टरमा १८३ जना विद्यार्थीमा गरिएको नमुना परिक्षामा नेपाली विषयमा सबैभन्दा बढी १०७ जना अर्थात ५८ दशलव ४ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् । यस्तै अंग्रेजीमा ९८ जना अर्थात ५३ दशमलव ५५ प्रतिशत, गणित विषयमा ६१ जना अर्थात ३३ दशलव ३३ प्रतिशत र विज्ञान विषयमा ८९ जना अर्थात ४८ दशमलव ६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । यस्तै सहिदस्मृती माविको पनि नतिजा पनि सन्तोषजनक रहेको शिक्षा महाशाखा प्रमुख भण्डारीले बताउनुभयो ।
तुलसीपुरमा ८३ वटा सामुदायिक विद्यालय छन् । २४ विद्यालयको नमुना परिक्षामा अधिकांश विद्यार्थी मुख्य विषयमा नै कमजोर देखिएपछि शैक्षिक सिकाइ सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
उनिहरुले शैक्षिक सुधारका लागि कक्षा कोठामा शिक्षकको पुरा समय सुनिश्चित गर्ने संयन्त्र तयार पार्ने, शिक्षक विद्यार्थीको नियमिततामा जोड दिने बताएका छन् । यस्तै गृहकार्य थोरै कक्षा कोठामा सिकाई धेरै गर्नुपर्ने, विषयगत शिक्षकको सहायता प्रणालीको विकास गर्नुपर्ने, कमजोर विद्यार्थीलाई सुधारात्मक कक्षा संचालन गर्ने, अभिभावकलाई विद्यालयसंग जोड्ने कार्यक्रम संचालन गर्न जोड दिएका छन् ।
शिक्षाविद विष्णुकुमार देवकोटाले शैक्षिक सिकाई सुधारमा सरोकारवाला गम्भिर बन्नुपर्ने बताउनुभयो । उहाँले नगरभित्रका विद्यालयको शैक्षिक सिकाई सन्तोषजनक नभएकाले स्थानीय सरकार र शिक्षासंग सम्बन्धित सरोकारवालाले शैक्षिक उपलब्धिका लागि सिकाईलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।