२०८१ भाद्र २२ गते आइतवार

अपराध न्युनिकरण गर्न नागरिकको सहयोग अनिवार्य छ : डिएसपी मल्ल



बिजौरी, ९ भदौ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले नागरिकले जतिसक्दो छिटो सुचना दिएमा अपराध कम हुने बताउनुभएको छ । उहाँले अपराधमुक्त बनाउन समाज र नागरिकको भूमिका महत्वपूणर् रहेको भन्दै प्रहरीलाई नागरिकको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

बिजौरी उद्योग वाणिज्य संघले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा प्रमुख पुष्पराज मल्लले प्रहरीले अपराध न्युनीकरणमा आफ्नो भूमिका कमजोर नहुने बताउनुभयो । डिएसपी मल्लले चाडपर्वको समयमा चोरी तथा लुटपाटसहित विभिन्न किसिमका अपराध बढी हुने भएकाले सचेत रहन नागरिकलाई आग्रह गर्नुभयो । ‘चाडपर्व नजिकिदै गरेको छ सबै महिला दिदीबहिनीहरुले गहना लगाएर प्रदर्शन नगर्नुहोस् ।’ उहाँले भन्नुभयो-‘अपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरुले कतिबेला मौका पाउला भनेको हुन्छ , त्यस्तो अवसर नदिनुस् ।’

संघका कार्यबहाक अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता तथा डिएसपी मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।संघका उपाध्यक्ष बालकृष्ण रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रेश्मीराज खड्काले बिजौरी-हेमन्तपुर क्षेत्रमा सुरक्षाकर्मीहरुको जनशक्ति थप हुनुपर्ने बताउनुभयो ।

चाडपर्व नजिकिदै गरेकोले विभिन्न सामाजिक तथा अपराधिक घटनाहरु घट्ने भएकाले अलि सजग हुन पनि प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मुकेश वली, गोविन्द रोका, ताराबहादुर कामी लगायतले प्रहरी र नागरिकको सहकार्यलाई सहज बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण संघका महासचिव विदुरराज गौतमले गरेका गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार