दाङ, १२ भदौ ।
मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । हाल मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा केही उत्तर तर्फ रहेकाले देशभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशका विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षाको सम्भावना भोलि बेलुकासम्म नै देखिएको छ । भोलि रातिलाई भने भारी वर्षाको सम्भावना कतै पनि देखिएको छैन । तर पर्सिका लागि फेरि भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
मनसुनकै कारण रातिदेखि नै देशका धेरै ठाउँमा मेघगर्जनर चट्याङ्गसहित पानी परिरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूणर् बदली भई बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षा हुँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लगातार पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम बढ्ने भन्दै नदी र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद् मानन्धरले आग्रह गर्नुभएको छ । दाङको राप्ती तथा बबई नदिमा पानीको बहाब बढ्दै गएकाले नदि तथा तटिय क्षेत्रका नागरिकलाई सावधान अपनाउन आग्रह गरिएको छ ।