२०८१ माघ १० गते बिहिवार

आजदेखि मतदाता नामावली अद्यावधिक गर्न पाइने



दाङ, १२ भदौ ।
निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

सीआईएनसँग कुरा गर्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी ठाउँमा नाम समावेश भएमा नाम सच्याउनका लागि भोलिदेखि आउँदो बुधवारसम्मको समय तोकिएको जानकारी दिनुभयो ।

यस्तै, मृत्यु भएका र नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन भोलिदेखि बिहीवारभित्र निवेदन दिइसक्नु पर्नेछ ।मतदाता नामावली अद्यावधिक भएपछि आउँदो ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

यसअघि स्थानीय तहको निर्वाचनको बेला मृत्यु भइसकेका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो ।सरकारले गएको साउन १९ गते चुनावको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको थियो ।
मतदानको अघिल्लो दिन १८ वर्ष पूरा भएकाहरूले मतदान गर्न पाउने छन् । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार