दाङ, २१ भदौ ।
अस्पतालहरुमा डेङ्गीका बिरामीको चाप बढ्दै गएको छ । बिरामीको चाप बढ्दै गएकाले कतिपय अस्पतालहरुले डेङ्गीका बिरामीको उपचारका लागि छुट्टै क्लिनिक सञ्चालन गरेका छन् ।
दाङमा भदौ १६ गतेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै ५८ जनामा संक्रमण देखिएकोमा त्यसपछिको तीन दिनमै पोजेटिभको संख्या बढेर एक सय ३२ पुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब प्रमुख दामोदर शर्माले साउन १ गतेदेखि ३१ गतेसम्म एक सय दुई जनामा डेङ्गी जाँच भएकोमा १६ जनामा पोजेटिभ देखिएको जानकारी दिनुभयो ।
यता निजी अस्पतालमा समेत डेङ्गीका बिरामी बढेको पाइएको छ । भदौ १६ गतेसम्मको तथ्यांकअनुसार घोराहीकै नेशनल प्याथोलोजीमा ११ जना, मितेरी अस्पतालमा तीन जना, गोरखा अस्पतालमा १३ जना, बुद्ध अस्पतालमा ४३ जना र दीपज्योति अस्पतालमा २० जनामा डेंगु पोजेटिभ देखिएको छ ।
घोराहीमा मात्रै नभएर तुलसीपुर र लमहीमा समेत डेङ्गीका बिरामी बढेको पाइएको छ । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा नौ जना डेङ्गी संक्रमित बिरामी फेला परेका छन् भने लमही अस्पतालमा चार जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पताल धेरैजसो बिरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, पेट दुख्ने बान्ता हुने, पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । यही अनुपातमा डेङ्गी सङ्क्रमित बढ्दै जाने हो भने अस्पतालहरुमा स्रोत साधनको अभाव हुन सक्ने देखिएको छ । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकणर् दाहाल भने कोरोनाको तयारीका लागि अस्पतालहरुमा सबै स्रोत साधनको व्यवस्था भएकाले आत्तिनु पर्ने अवस्था नभएको बताउनुहुन्छ । अहिलेसम्म देशभर ५ हजार २९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।
यसैबीच डेङ्गीको प्रकोप बढ्दै जाँदा त्यसको परीक्षण शुल्कमा मनोमानी भएको पीडितको गुनासो छ । सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गी परीक्षणको शुल्कमा मनोमानी पाइएको उनीहरुले गुनासो गरेका हुन् । सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपैयाँसम्म रहेको छ ।