दाङ, २८ भदौ ।
दाङमा डेङ्गीको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेंगीको संक्रमणबाट घोराही-१४ निवासी ४० वर्षिय मायाकुमारी बिसीको मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारत बिसीको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
डेङ्गीको सङ्क्रमणका कारण सात जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकणर् दाहालले बताउनुभयो । अहिलेसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ ।
दीर्घ र अन्य रोग भएकालाई डेङ्गी भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टर दाहालको सुझाव छ । डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।
घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न डाक्टरको आग्रह छ । यस्तै, उच्च ज्वरो आए, जिउ दुखे, टाउको दुखे जथाभाबी औषधि नखान र अस्पताल जान पनि डाक्टरको सुझाव छ ।
डेङ्गी फैलिए पछि अहिले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको छ । यो अभियान तीन महिनासम्म नै चलाउने तयारी रहेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कात्तिक मसान्तसम्म नै डेङ्गीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।