
दाङ, २९ भदौ ।
दाङमा डेंगीको संक्रमणदर बढ्दो रहेको छ । चालुवर्षको साउनयता पछिल्लो समय डेंगी रोगका बिरामीको संख्या दिनप्रति दिन बढ्दै गएको देखिएको छ । डेंगी रोगको संक्रमण दाङ लगायत देशभर फैलिएको छ । जिल्लाका दश स्थानीय तह मध्य पाँच स्थानीय तहमा डेंगी रोगको संक्रमण फैलिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
स्वास्थ्य कार्यालय दाङका डेंगी रोग फोकल पर्सन देवराज डाँगीका अनुसार साउन १ गतेदेखि सोमबारसम्म ६३५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लाका पाँच स्थानीय मध्य सबैभन्दा बढी संक्रमण घोराही उपमहानगरपालिकामा ३१५ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा १८ जना, लमही नगरपालिकामा ९ जना, राप्तीमा ३ जना र गढवा गाउँपालिकामा एक जना संक्रमित रहेका छन् । अन्य बबई, शान्तिनगर, राजपुर, बंगलाचुली र दंगीशरण पालिकामा भने डेंगी रोगको संक्रमण नदेखिएको फोकल पर्सन डाँगीले बताउनुभयो ।
यसैबिच दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डेंगी फैलिनबाट रोक्नका लागि जिल्लाका १० वटै पालिकाहरुलाई निर्देशन दिनु भएको छ । जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु र पालिका प्रमुखहरुलाई डेंगी रोग नियन्त्रणका लागि सावधान अपनाउन निर्देशन दिनु भएको हो ।