२०८१ साउन ५ गते आइतवार

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार आजदेखि शुरु



दाङ, ५ कार्तिक ।
यमपञ्चक अर्थात् तिहार आज देखि सुरु भएको छ । तर काग तिहार भने भोलि परेको नेपाल पञ्चाग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । धनवन्तरी जयन्ती भोलि परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । सोही दिन बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।

तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ ।

राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ । सर्वसाधारणका लागि मध्यान्हकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।

बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार