दाङ, ६ कार्तिक ।
दाङमा बबई नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको खोजि कार्य आज पनि जारी रहेको छ । शनिबार दिउँसो १ बजेतिर बेपत्ता भएका किशोरी २० घण्टा बित्नै लाग्दा पनि फेला नपरेपछि आज गोताखोरसहितको टोलीले खोजि गर्ने भएको छ ।
वेपत्ता किशोरीको खोजिका लागि आज आइतबार नेपालगञ्जबाट गोताखोरको टोली आउन लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
बेपत्ता किशोरीको शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोलीले खोजि गरिरहेको मल्लले जानकारी दिनुभयो ।
बबई नदिमा नुहाउन गएका दंगिशरण-२ का १४ वर्षिय रमा शाह र सल्यानको दमाचौर-१ का १४ वर्षिय गोमा चन्द डुेबर बेपत्ता भएका हुन् ।
तुलसीपुर-११ को मोतिपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदिमा नुहाउन गएका तीन जनामध्ये दुई जना वेपत्ता भएको र एक जनालाई सकुशल उद्धार गरिएको मल्लले जानकारी दिनुभयो ।
नदिमा डुबेका दंगिशरण २ का १३ वर्षिय निरुता बस्नेतलाई बेहोस अवस्थामा उद्धार गरिएको हो । निरुतालाई तत्काल उद्धार गरिएकोले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।