दाङ, १८ कार्तिक ।
मंसिर चार गते हुने आम निर्वाचनको मिति नजिकिदै जाँदा उमेदवार तथा दललाई चुनावी चटारो छ । निर्वाचन आयोगले पनि मतदान भव्य र सभ्यरुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ । आयोगले आजदेखि दाङसहित देशभरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ ।
स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । आगामी मङ्सिर ४ को निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको उहाँको भनाइ छ ।
आयोगले मतदाता शिक्षा कार्यक्रमार्फत एक करोड ८० लाख मतदातासम्म पुर्याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन हुने सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो । मतदान गर्ने तरिका, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिनेछन् ।।