तुलसीपुर १० मंसिर ।
तुलसीपुरमा सञ्चालन हुन लागेको प्रथम लुम्बिनी, पर्यटन तथा व्यापारिक महोत्सवलाई रोक्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ ।
मेला लाग्न करिब ६ दिन बाँकी रहँदा प्रशासनले यस्तो निर्देशन दिएको हो । यूथ्स अफ क्लब तुलसीपुरले मंसिर १५ गतेदेखि २६ गतेसम्म महोत्सव सञ्चालनका लागि तयारीलाई अन्तिम पारिरहँदा प्रशासनले रोक्न आदेश दिएपछि महोत्सव संचालन अन्यौल बनेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको पत्रमा मेला महोत्सव तत्काल रोक्न भनिएको हो । पत्र तुलसीपुर उद्योगबाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकालाई बोदार्थ गरिएको छ ।
मंसिर ९ गतेको पत्र संख्या ०७९/०८० तथा चलानी नम्बर २६४६ को पत्र मार्फत रेग्मीेले मेला रोक्न निर्देशन दिनुभएको हो । व्यापारीहरुको छाता संगठन तुलसीपुर उद्योगबाणिज्य संघ र चेम्बर अफ कमर्सले चर्को विरोध गरेपछि जिल्ला प्रशासनले रोक्न आदेश दिएको हो ।
तुलसीपुर उद्योग बाणिज्य संघले गैर व्यापारीले व्यापारिक महोत्सव लगाउन नहुने भन्दै चर्को विरोध गरिरहेको छ । व्यापारीको अहितमा हुने मेलालाई कुनैपनि हालतमा लगाउन नदिने बताउँदै वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले पूणर् रुपमा रोक्ने बताउनुभयो ।