२०८१ माघ १२ गते शनिवार

मतपत्र सजिलै पुग्ने ठाउँमा पुगेन, पाठ्यपुस्तक



दाङ, १६ मंसिर ।
शैक्षिक सत्र शुुरु भएको झण्डै आठ महिना पुगिसकेको छ । पर्याप्त मतपत्र र निर्वाचन प्रचार सामग्री छपाउन सक्ने सरकारले विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउन भने अझै सकेको छैन ।

सल्यानको शारदा नगरपालिकामा रहेको एक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तकबिना नै वार्षिक परिक्षा दिने तयारी गरेका छन् । भर्ना भएपछि विद्यार्थीले अध्ययनका लागि पाउनुपर्ने पाठ्यपुस्तक अझै पाउन सकेका छैनन् ।

सरकारले कक्षा १२ सम्मका पाठ्यपुस्तकहरु निःशुल्क वितरण गर्ने भने पनि सल्यानमा पुस्तक नआएपछि शिक्षकले पुराना, पाना च्यातिएका पुस्तक खोजेर पढाउँदै आएका छन् ।
तर धेरै विद्यार्थीका हातमा पुराना पाठ्यपुस्तक पनि पुग्न सकेको छैन । शारदा नगरपालिका-९ सुन्चौरमा रहेको निम्न माध्यमिक विद्यालयमा अझै पाठ्यपुस्तक अभाव रहेको छ ।

समयमै विद्यार्थीले पुस्तक नपाउँदा पढाइ प्रभावित भएको अभिभावकको गुनासो छ । यस विद्यालयमा केही महिनाअघि मात्रै बाँकी कक्षाका पाठ्यपुस्तक आएका हुन् तर कक्षा ८ को अंग्रेजी, नेपाली, स्वास्थ्य तथा शारीरिक शिक्षा भने अझै आएको छैन । जसका कारण विद्यार्थीलाई पढाउन समस्या भएको शिक्षक टीकाराम कार्कीले बताउनुभयो ।

समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध नहुनु ठूलो समस्या हो । विद्यालयमा पाठ्यपुस्तकको अभाव भए पनि पुस्तक व्यवसायीलाई पहिले ल्याएका पाठ्यपुस्तकको रकम भुक्तानी गर्न नसक्दा बाँकी किताव नआएको विद्यालय स्रोतले बताएको छ ।

विद्यालयकै अर्का शिक्षक कणर्बहादुर बुढाले भने अबको केही समयमा नै विद्यालयमा पुस्तक आउने दाबी गर्नुभयो । अहिले विद्यालयको बैंक खाता रोक्का भएका कारण पाठ्यपुस्तकको रकम निकासा नहुँदा सबै पाठ्यपुस्तक नआएको भए पनि अबको केही दिनमा अपुग सबै पुस्तक आउने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १६ गते शुक्रवार