तुलसीपुर, १९ मंसिर ।
तुलसीपुर-४ मुलकोटका स्थानीयले भैलोबाट संकलित रकमले धारा निर्माण गरेका छन् । स्थानीयले भैलाबाट संकलित रकम र विभिन्न व्यक्तिको सहयोगबाट प्राप्त ३२ हजार ५ सयले धारा निर्माण गरेका हुन् ।
भैलोबाट संकलित रकम फजुल खर्च हुने गरेको अवस्थामा मुलकोटका स्थानीयले सार्वजनिक धारा निर्माण गरेका हुन् । सामाजिक उद्देश्य राखेर देउसीभैलो खेलिएको र त्यसबाट संकलित रकम र सहयोगदाताहरुको सहयोगमा मुलकोट पानी मुहान नजिकै व्यवस्थित सार्वजनिक धारा निर्माण गरेको मुल्कोट टोल विकास संस्थाका अध्यक्ष तथा भैलो समुहका अगुवा ऋषिराम पुनले जानकारी दिनुभयो ।
गाउँमा केहि स्थानीयहरु मनोरन्जनका लागी भैलो खेलेपनि आफुहरुले सामाजिक उद्देश्य लिएर खेलेको उहाले बताउनुभयो । थोरै बजेटबाट पनि खानेपानीको धारा निर्माण गर्न सकिने अनुमानको आधारमा टोलबासीहरुले तिहारमा देउसीभैलो खेलेको उहाले बताउनुभयो ।
यद्यपी भैलोबाट संकलित रकमले मात्रै धारा निर्माण गर्न समस्या भएपछि नगद तथा जिन्सी सहयोग उठाएको उहाले बताउनुभयो । भैलोबाट १६ हजार १८० रुपैया संकलन भएको हो ।
उहाले धारा निर्माण कार्यमा निबर्तमान वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले पाँच हजार रुपैया बराबरको दश बोरा सिमेन्ट, स्थानिय तथा युवा धुव्र पुनले ११ हजार बराबरको एक टिप बालुवा,समाजसेवी तथा हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष दोलक बहादुर खत्रीले व्यक्तिगत रुपमा पाँच हजार पाँच सय बराबरको सुचना बोर्ड, तुलसीपुर उपमहानगरपालिका कार्यालयको यान्त्रिक शाखा प्रमुख केशव बहादुर डाँगीले व्यक्तिगत रुपमा नगद पाँच हजार र स्थानिय युवा नेता तथा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले व्यक्तिगत रुपमा सुचना बोर्डमा लेखन कार्यका लागी दुई हजार रुपैया आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।
यस्तैगरी स्थानियहरु छविलाल पुनले नगद दुई हजार , सिताराम पुन र विकास घर्तिले एक/एक हजार रुपैया सहयोग गर्नुभएको हो भने स्थानियले श्रमदान समेत गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनले खर्च विवरण सार्वजनिक गर्दै झन्डै ४० हजार खर्च भएको र बचत भएको रकमलाई सामाजिक कार्यमा लगानी गर्ने योजना रहेको बताउनुभयो । साथै उहाले भैलोमा सहभागी हुने दाजुभाई दिदीबहिनी, सहयोग गर्ने सहयोगदाता सबैमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।