दाङ, २२ मंसिर ।
दाङ तुलसीपुरको दमारगाउँमा संचालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसी स्मृति कप फुटबल प्रतियोगिताको उपाधी आयोजक टाईगर युवा क्लब तुलसीपुर-३ ले जितेको छ ।
टाईगर युवा क्लब तुलसीपुर ३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा ज्ञानज्योती फुटबल क्लब तुलसीपुर ६ लाई शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै टाईगर युवा क्लबले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद एक लाख तीस हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्यो । फाइनलमा हार ब्यहोरेको ज्ञान ज्योती उपबिजेतामा सिमित रहदै नगद ६५ हजार, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
उल्लेख्य दर्शकको उपस्थितिमा टाईगर क्लबको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ्को समाप्ति सम्म गोल रहित बराबरी भएपनि दोस्रो हाफको ९ औ मिनेटमा जर्सी नम्बर १३ का माधव घिमिरेले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाउनुभयो ।
त्यस्तै जर्सि नम्बर ५ का बिजय सिंह ठकुरीले दोस्रो हाफ्को १८ औ मिनेटमा थप एक गोल गर्दै टिमलाई दुई सुन्यको जित निकाल्न सफल हुनुभयो ।
फुटबल खेलको विकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उदेश्यका आयोजना गरिएको प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको थियो।
यसैबिच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरबिर गुरुङको अध्यक्षता तथा ९९ वर्षिय बयोबृद समाजसेवी ब्यक्तित्व तिलक बहादुर मल्लको प्रमुख आतिथ्य एव लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य टेक बहादुर बिकको विशिष्ट आतिथ्यमा भएको हो । त्यस अवसरमा बिजेता, उपबिजेता तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । क्लबका सल्लाहकार इन्द्र पुनको स्वागत रहेको कार्यक्रमको संचालन क्लबका संस्थापक अध्यक्ष प्रेम प्रकाश मल्लले गर्नु भएको थियो ।