२०८१ माघ १२ गते शनिवार

तुलसीपुरमा सुनाखरी मेला



दाङ, १४ पुस ।
शैक्षिक सिकाईलाई सहज बनाउन तुलसीपुरमा सुनाखरी मेला भएको छ । माध्यामिक विद्यालय तुलसीपुर-७ कालाखोलामा शिक्षण सिकाईका लागि सुनाखरी सिकाइ मेला भएको हो ।

त्यस अवसरमा शिक्षाविद् विद्यानाथ कोइरालाले अहिले शिक्षक, अभिभावक र विद्यार्थीका चाहाना फरक हुने भएकाले विद्यार्थीको क्षमता बुझेर शिक्षण सिकाइ गर्दा यसबाट सिक्न सहज हुने बताउनुभयो ।

उहाँले विद्यार्थीलाई सिर्जनशिल बनाउन उस्को क्षमता बुझेर उस्को प्रतिभालाई चिन्न सके त्यसैबाट पनि धेरै काम गर्न सकिने बताउनुभयो । सबैको बुझाई, क्षमता फरक हुने भएकाले सिक्ने कलामा विद्यार्थीलाई बढि सहभागि बनाई बुझाउन आवश्यक रहेको बताउनु भएको छ ।

मेलामा शिक्षण सिकाइका बारेमा नृत्य, गीत, कविता, स्वच्छ खाना, चित्रकला, खेल, विभिन्न प्रविधि लगाएतका स्टलहरु राखिएको छ । मेलामा विद्यार्थीहरुले तयार पारेका सामग्रीहरुको २० वटा र अन्य २० वटा स्टलमा पेशागत सामग्री रहेका छन् ।

शिक्षामा प्रविधिको प्रयोग, अंग्रेजी माध्यम, शिक्षणको चुनौती र कार्यदिशा, कक्षा कोठा व्यवस्थापन, मनोसामाजिक परामर्श र परियोजनामा आधारि सिकाइका बारेमा छलफल भएको छ । उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहको छ ।

तुलसीपुर उपमहानगरपालिका सहित बिभिन्न आठ वटा विद्यालयले मेलाको आयोजना गरेका हुन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भरत चौधरीको अध्यक्षता तथा शिक्षाविद् विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कलाकार सुनिल थापाले विद्यार्थीलाई आफ्नो मनबाट पढेर, सिकेर आफै नम्बर एक हुन आग्रह गर्नु भएको छ । उहाँले आजको शिक्षामा यी सिकाइले शिक्षामा केहि फरक पन दिने बताउनुभयो ।

पुर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जोगेन्द्र विश्वकर्माले शिक्षण सिकाइ मेलाले तुलसीपुरमा रहेका विद्यालयमा केहि परिवर्तन गर्न सकिने र यो सिकाइ प्रभावकारी हुने बताउनुभयो । स्थानीय स्तरमा सिकेका कुरालाई उदाहरणीय रुपमा बाहिर देखाउन सकिने उहाँको भनाई छ ।

यस्तै तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्का र उपप्रमुख श्यानी चौधरीले तुलसीपुरका विद्यालयको शैक्षिक गुणस्तर सुधार र शिक्षामा आधुनिकता ल्याउन, विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन सधै सहयोग गर्ने बताउनुभयो ।

सिकाइ मेलाका सल्लाहकार एवं वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले शिक्षण सिकाइ मेलाले विद्यार्थीलाई किताबी ज्ञान मात्र नदिएर अन्य कुरामा पनि योग्य बनाउने बताउनुभयो ।

तुलसीपुर उपमहानगरका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी प्रमिला ओली र संगित जिसीले गर्नु भएको हो ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार