दाङ, १९ पुस ।
देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै तराईमा हुस्सु र कुहिरो लागिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावले दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, गण्डकी र कणर्ालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि देशैभरको मौसम आंशिक बदली रहनेछ ।
वर्षाको भने सम्भावना नरहेको उहाँले बताउनुभयो । चिसो क्रमश ः बढ्दै गएकाले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् । विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताउनुभयो ।
उहाँले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताउनुभयो ।
उहाँले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताउनुभयो ।