२०८१ असोज १९ गते शनिवार

कठ्याङ्ग्रिदो चिसोका कारण दाङसहित देशभर जनजीवन प्रभावित



दाङ, २० पुस ।
कठ्याङ्ग्रिदो चिसोका कारण दाङसहित देशभर जनजीवन प्रभावित बनेको छ । चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित हुन थालेको हो ।

कठ्याँग्रिदो चिसोका कारण तराईका धेरैजसो विद्यालयमा बिदा दिइएको छ । घरबाट बाहिर निस्किएर काम गर्नै समस्या भएको छ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र मजदुरी गर्नेहरु मारमा परेका छन् ।

आज पनि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ । हुस्सु कुहिरोकै कारण आज पनि भिजिभिलिटी अर्थात दृश्य क्षमता घटेको छ ।

दाङको आजको न्यूनतम तापक्रम ५ दशमलव ७ डिग्रि सेल्सीयस मापन गरिएको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ ।

भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फको उडान भने ठप्प भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको जनाएको छ ।

आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट बाह्यतर्फको उडान भने भइरहेको छ । आज पहाडी जिल्लाको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ भने हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमवद् सजिना शाक्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार