गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसदको पहिलो अधिवेशन बोलाउनुभएको हो । सोमबार बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा भएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्नुहुने भएकाे छ ।
सोमबारको बैठकमा ज्येष्ठ सदस्य जबराले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने भएकाे छ । साेही बैठकमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुको नामावली समेत पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै, सभामुख चयन नहुन्जेलसम्मका लागि ज्येष्ठ सदस्यको अनुपस्थितिमा सभा संचालनका लागि सांसदहरूको मनोनयन गर्ने कार्यक्रम समेत रहेको छ । संघीय संसद अन्तर्गतको प्रतिनिधि र राष्ट्रिय सभा दुवैको बैठक सोमबार एकै समयमा बस्ने भएकाे छ ।
नवनिर्वाचित प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहने भएकाे छ ।