दाङ, २६ पुस ।
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनले आज दाबी पेस गर्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रदेशको भागबन्डा टुंगिएपछि लुम्बिनीमा एमालले मुख्यमन्त्री पाउने भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्नुहुने भएको छ ।
हिजो दाङको देउखुरीमा एमाले संसदस्य दलका नेता लीला गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले आज ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका हुन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भोलि ४ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएको छ । बैठकमा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमतका नेताहरूको उपस्थिति थियो । ४ सिट जितेको नागरिक उन्मुक्ति पार्टी भने बैठकमा उपस्थित भएन ।
एमाले नेता भूमिश्वर ढकालले आज कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको बताउनुभयो । लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका ९, राप्रपाका ४, जसपा र जनमतका ३/३ सिट छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।
नागरिक उन्मुक्तिका ४ र स्वतन्त्रबाट ३ सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् । माओवादी निकटका तीन स्वतन्त्रमध्ये १ जना माओवादी प्रवेश गरिसकेका छन् । अन्य दुई जनाले पनि सरकारलाई समर्थन गर्ने ढकालले बताउनुभयो ।