दाङ, २ माघ ।
पोखरामा हिजो बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति शोक प्रकट गर्न सरकारले आज एक दिन शोक बिदा दिएको छ ।
विमान दुर्घटनापछि लगत्तै बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले मुलुकभर शोक बिदा दिने निणर्य गरेको हो ।
आन्तरिक उडानमा हालसम्मकै ठूलो क्षति भएको भन्दै मन्त्रिपरिषद् बैठकले शोक बिदा दिने निणर्य गरेको हो । यस्तै आज राष्ट्रिय झन्डा आधा झुकाइने निणर्य गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग पनि गठन गरेको छ ।
आइतबार काठमाडौँदेखि पोखराका लागि उडेको यती एअरको विमान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त बनेको थियो ।
जसमा १५ जना विदेशीसहित ५३ जना नेपाली यात्रु र चार जना चालकदलका सदस्य थिए । आइतबार रातिसम्म ६८ जनाको शव निकालिसकिएको थियो । सोमबार आज बिहानैदेखि हराइरहेका ४ जनाको शव खोजी जारी रहेको प्रहरीले जनाएको छ ।