दाङ, २५ माघ ।
दाङ–काठ्माण्डौ सडकमा आजदेखि सुतेर यात्रा गर्न मिल्ने बस संचालनमा आएको छ । त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिले दाङदेखि काठमाडौंको रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालन गरेको हो ।
दाङदेखि काठमाडौंसम्म लामो यात्रामा जाने यात्रुहरुको सहजताका लागि सुत्न मिल्ने सिट रहेका चार वटा एयर सस्पेन्सन स्लीपर बस सञ्चालन गर्न लागेको प्रालिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
सुविधायुक्त नयाँ बसमा ४० सिट छन् । ती मध्ये ८ वटा सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरु बसेर यात्रा गर्न मिल्ने रहेका छन् । सुविधायुक्त बसमा दाङदेखि काठमाडौंसम्म सिटमा बसेर यात्रा गर्नका लागि एउटा यात्रुले १ हजार ८ सय र सुतेर यात्रा गर्नेका लागि २ हजार रुपैंया भाडादर तय गरिएको अध्यक्ष हमालले बताउनुभयो ।
प्रालिले यसअघि नै यात्रुको सुबिधालाई मध्यनजर गर्दै क्रमिक रुपमा डिलक्स, एसी, ब्यू स्काइ, सेभेन स्टार बस संचालनमा ल्याईसकेको छ । पछिल्लो समय फेरी प्रालिले सुतेर यात्रा गर्ने सुबिधा युक्त बसहरु ल्याएको हो ।
प्रालिका अध्यक्ष हमालले छिट्टै अनलाइन टिकट बुकिङ खुल्ला गरिने बताउनुभयो । उहाँले गाडी चालक,सहचालक र बसपार्कका टिकट काउन्टरहरुमा काम गर्ने कर्मचारीहरुको व्यवहार परिवर्तन गर्ने सवालमा कटिबद्ध भएर लाग्ने बताउनुभयो ।
२०४१ सालमा स्थापना भएको साबिक राप्ती अंचल सार्वजनिक बस ब्यबसायी समिति राज्यको पछिल्लो नीति अनुरुप प्रालिमा गएको हो । यो प्रालि संग हाल ५ सय ६५ वटा बसहरु सञ्चालनमा रहेको र दुई हजारले रोजगारी पाइरहेको छन् ।
मुलुकका बिभिन्न ५० जिल्लासहित भारतको दिल्ली लगाएतका क्षेत्रमा प्रालिले बस संचालन गर्दै आएको छ । यसैबिच प्रालिले फागुन १२ र १३ गते दोश्रो अधिवेशन तथा चौथो साधारण सभा कार्यक्रम गर्दै छ । त्यस अवसरमा एक जना यातायात व्यवसायीलाई गोला पर्थाबाट एउटा बस उपहार दिने अध्यक्ष हमालले जानकारी दिनुभयो ।