२०८१ माघ ४ गते शुक्रवार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी : तीन पाटीबाट नाम टुंगो



दाङ, २७ माघ ।
लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पु¥याउनु भएको छ । सकभर आजै नभए आइतबारसम्म नयाँ मन्त्रीको शपथ गराउने गरी तयारी भइरहेको छ ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको आलोचना भइरहेको छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र अन्य साना दलहरुसँग मन्त्रालय भागबन्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाउनु भएको थियो ।

गिरीले आफूसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीलाई बिनाविभागीय मन्त्री बनाउनु भएको थियो । उनीहरुको मन्त्रालय पनि अहिलेसम्म टुंगो लागेको छैन ।

मुख्यमन्त्री पाएको नेकपा एमालेले माओवादी केन्द्रलाई अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय दिन तयार भएपछि सहमति जुटेको माओवादी केन्द्र प्रदेश अध्यक्ष सुदर्शन बरालको दाबी छ । माओवादीले कुल ३ मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले एक÷एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन सहमत भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो ।

बरालले पार्टीबाट सरकारमा जाने नेताहरुको नाम करिब करिब टुंगो लागेको बताए पनि नाम भने साबैजनिक गर्नु भएको छैन् । यसअघि एमालेले अर्थ मन्त्रालय माओवादीलाई दिन आनाकानी गरेपछि जोखबहादुर महराले सरकारमा नजाने अडान गर्नु भएको थियो । यही कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको थियो ।

जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले सरकारमा जाने मन्त्रीको टुंगो लगाइसकेको सम्बन्धित दलका नेताहरुले बताएका छन् । जसपाबाट संसदीय दलका नेता बाँकेका भण्डारीलाल यादवले आफू नै सरकारमा जाने पार्टीमा सहमति भएको बताउनुभयो ।

राप्रपाले कपिलवस्तुका जानकीप्रसाद यादवलाई सरकारमा पठाउने भएको छ । राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयका अनुसार राप्रपाले उद्योग तथा पर्यटन वा सामाजिक विकास मध्ये एउटा मन्त्रालय पाउने छ ।

जनमत पार्टीबाट रुपन्देही ५ (२) बाट निर्वाचित संसदीय दलका नेता चन्द्रकेश गुप्ता सरकारमा जाने हुनु भएको छ । गुप्ताले आफू नै सरकारमा जाने सहमति भइसकेको तर मन्त्रालय टुंगो नलागेको बताउनुभयो ।

सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा नजाने भएको छ । सो दलको संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीसहित थुनामा रहेका नेता कार्यकर्ताहरु रिहा नभएसम्म आफूहरु सरकारमा नजाने तर सरकारलाई समर्थन कायमै रहने बताउनुभयो ।

सरकारका प्रवक्ता चेतनारायण आचार्यले मन्त्रीहरुले शपथग्रहण गरेपछि सरकारी आवास पाउने गरी तयारी गर्दा केही ढिलाई भएको बताउनुभयो । मन्त्रीहरुको आवासका लागि लमहीमा व्यवस्थापन गरिएको उहाले बताउनुभयो ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबन्डामा करिब करिब सहमति जुटेकाले सकभर आजै मन्त्रिपरिषद् विस्तार गरी शपथ गराउने तयारी भइरहेको छ । आफ्नो दल एमालेबाट सरकारमा जाने नेताहरुको विषयमा समस्या नभएको उहाले बताउनुभयो । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्री बनाउने निर्णय भएको छ ।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा सहकारी गरी १० मन्त्रालय रहेका छन् ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार