२०८१ चैत्र १२ गते मङ्गलवार

दाङमा तेह्रौँ पटक हात्तीपाइलेको औषधी खुवाइदै

६ लाख वढिलाई खुवाउने लक्ष्य


दाङ ५,फागुन।
दाङमा तेह्रौँ पटक हात्तीपाइले रोग निवारण गर्न आम औषधी खुवाइदै छ । यस पटक जिल्लामा ६ लाख ८७ हजारलाई खुवाउने लक्ष्य राखिएको छ । जोखिम पहिचान भएका दाङसहितका जिल्लामा आम औषधी सेवनको प्रभावकारी ईपिडिमियोलोजिकल कभरेज प्राप्त गरि हात्तीपाइले निवारण गर्ने उद्देश्यले फागनु ११ गतेबाट आम औषधी सेवन अभियान हुन लागेको छ ।

कुल जनसंख्याको असी प्रतिशत जनसंख्यालाई आम औषधी सेवन हुनुपर्नेमा गत वर्षपनि निकैले औषधी सेवन गरेका कारण दाङमा तेह्रौँ पटक आम औषधी सेवन अभियान गर्न थालिएको हो । यो अभियान सफल बनाउन जिल्लाका १० वटै पालिकामा रहेका ६ लाख ८७ हजार जनसंख्यालाई औषधी खुवाउन ६ सय ६१ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाउन लागिएको छ । स्वास्थ्य कार्यालय दाङले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान अन्तरगत जिल्लामा क्रियाशील पत्रकारहरुसँग गरेको अन्तरक्रियामा निमित्त कार्यालय प्रमुख डम्मर कुवँरले लुम्बिनीमा दाङसहित बाँके र कपिलवस्तु हात्तीपाइले रोग निवारणमा असफल भएको हुँदा अब यो जिल्लाको जनस्वास्थ्यको दृष्टिकोणले पनि गम्भीर रुपमा सोँच्नुपर्ने बेला भएको बताउनुभयो ।

सन् २०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरि राख्नु दुखद पक्ष भएको बताउँदै आम औषधी सेवनमा नागरिकको पहुँच बढाउन सचेतना बढाउन सबै सरोकार निकायसँग अपिल गर्नुभयो । आगामि सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि नेपालका अधिकांश जिल्ला निवारण भई सक्दा दाङ अहिलेसम्म पछि परेको हुँदा अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको उल्लेख गर्नुभयो ।

जिल्लामा गत वर्षको सर्वेक्षणले ४ सय २९ जनामा हात्तीपाइले र १ हजार ६ सय १४ जनामा हाईड्रोसिल गरी कुल २ हजार ४४ जनामा यो समस्या रहेको छ । सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो । तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो ३ वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौति देखिएको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार