
दाङ, १३ फागुन ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच वर्षपछि शैक्षिक कार्यक्रम शुरु हुने भएको छ । आगामी शैक्षिक वर्षदेखि नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी गरेको प्रतिष्ठानले जनाएको छ । २०७४ सालमा स्थापना भई २०७५ मा सञ्चालनमा आएको प्रतिष्ठानमा पाँच वर्षपछि शैक्षिक कार्यक्रम हुने भएको हो ।
बिएस्सी नर्सिङ र बिएनएस नर्सिङ गरी दुईवटा कोर्षका पढाइ शुरु गर्ने अन्तिम तयारीमा रहेको प्रतिष्ठानले जनाएको छ । आउँदो शैक्षिक वर्षदेखि बिएस्सी नर्सिङ र विएनएस नर्सिङका कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछानेले बताउनुभयो ।
ले आफ्नो उद्देश्यअनुरूप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रम सञ्चालनको लागि आउँदो शैक्षिक सत्रदेखि शैक्षिक पठनपाठन शुरु गर्ने गरी पाठ्यक्रम तयार भएको उहाँले जानकारी दिनुभयो । शैक्षिक कार्यक्रम सञ्चालनका लागि समग्र अवस्था बुझ्न चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानको स्थलगत अवलोकन गरिसकेको छ ।
आयोगले सिट निर्धारण गरेर कक्षा सञ्चालनको अनुमति दिए आउँदो शैक्षिक वर्षदेखि कक्षा सञ्चालन हुने लामिछानेले बताउनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिएस्सी नर्सिङ र बिएनएस नर्सिङ गरी दुईवटा कोर्षका लागि ४०–४० जनाको संख्यामा पढाउन सकिने गरी पूर्वाधार तयार पारेको जनाएको छ ।
शुरु वर्ष ८० जनालाई पढाउन सकिने गरी भौतिक व्यवस्थापन गरिएको छ यद्यपि सिट संख्या भने अझै तोकिएको छैन । सम्भवतः दुई साताभित्रै सिट संख्या तोकिएर कक्षा सञ्चालनको अनुमति पाइने शिक्षाध्यक्ष लामिछानेले बताउनुभयो ।
प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने ल्याब, लाइब्रेरी, लेक्चर हलको व्यवस्था भइसकेको छ भने कक्षा सञ्चालन गर्न आवश्यक जनशक्ति समेत प्रतिष्ठानले भर्ति गरिसकेको छ ।
६० सिटका तीनवटा कक्षा कोठा, पढाउने १० जना शिक्षक, तीनवटा स्किल ल्याब, पुस्तकालय, ई–लाइब्रेरीलगायतको पूर्वाधार तयारी अवस्थामा रहेको शिक्षाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । नर्सिङ पढ्ने विद्यार्थीका लागि आवश्यक बस तथा सवारी साधन र छात्रावासको व्यवस्थामा समेत प्रतिष्ठानले प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्त्री तथा प्रसूति रोगसम्बन्धी अष्ट्रेटिक्स एण्ड गाइनोकोलोजी, अर्थोपेडिक सर्जरी, इन्टरनल मेडिसिन, जनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिन गरी चार विधामा स्नातकोत्तर तहको पाठ्यक्रम विकास गरेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले जानकारी दिनुभयो ।।