दाङ, १५ फागुन ।
दाङमा १३ औँ चरणको हात्तिपाईले रोग विरुद्धको औषधि सेवन अभियान चलिरहेको छ । दाङमा चार दिनको अवधिमा करिब तीन लाखले औषधि सेवन गरेका छन् । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले दश वटै पालिकामा चार दिनको अवधिमा २ लाख ९७ हजार २८७ जनाले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेको बताउनुभयो ।
दाङमा गत बिहिबारदेखि औषधि सेवन अभियान शुरु भएको हो । शुरुको दिनमा जिल्लामा ९६ हजार १४१, दोस्रो दिनमा ८९ हजार ८५ , तेस्रो दिन ५८ हजार ६२७ र चौथो दिन हिजो ५३ हजार ४३४ जनाले औषधि सेवन गरेका छन् ।
यसअघि १२ औँ पटकसम्म आम नागरिकले औषधि सेवन नगर्दा दाङमा १३ औँ चरणमा हात्तिपाइले रोग निवारणका लागि औषधि सेवन अभियान चलिरहेको छ । जिल्लामा अहिले ६ लाख ८७ हजार ७७६ जनालाई औषधि सेवन गराउने लक्ष्य राखिएको छ । तर यसवर्ष पनि औषधि सेवन अभियान लक्ष्यमा पुग्न निकै कठिन देखिएको फोकल पर्सन चन्दले बताउनुभयो ।
८० प्रतिशतभन्दा बढीले औषधि सेवन गरेपछि रोग निवारण हुने स्वास्थ्य कार्यालय फोकल पर्सन चन्दले बताउनुभयो । तुलसीपुरमा गतवर्षको तुलनामा अहिले औषधि खानेको संख्या बढ्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखा जनस्वास्थ्य निरिक्षक बिमल केसीले बताउनुभयो ।