२०८१ भाद्र २२ गते आइतवार

आज दाङ सहित तराईका जिल्लामा होली पर्व मनाइँदै



दाङ, २३ फागुन ।
आज तराई क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ ।

फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार पाँच वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ ।

सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज तराईका जिल्लामा मनाइदैछ भने हिजो पहाडी जिल्लामा धुमधामका साथ मनाइएको छ ।

यसैबीच, प्रहरीले होली सभ्य तरिकाले मनाउन अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो । अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ ।

इच्छा विपरीत रङ वा लोला हाने पक्राउ गरेर मुद्दा चलाइने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले बताउनुभयो । यसैगरी होलीलाई लक्षित गरी आज ठाउँठाउँमा चेकपोइन्टहरु राखिँदैछ । मोबाइल गस्ती बढाइने छ भने सादा पोसाकमा समेत प्रहरी खटिने छन् ॥

प्रकाशित मिति : २०७९ फाल्गुन २३ गते मङ्गलवार