दाङ, २३ फागुन ।
दाङमा चलेको हात्तीपाइले रोग बिरूद्धको आम औषधी सेवन अभियानले यो पटक पनि लक्ष्य भेट्न सकेको छैन । ८० प्रतिशतलाई औषधी सेवन गराउने लक्ष्य भए पनि जिल्लामा ७६ प्रतिशतले मात्र औषधी खाएका छन् ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका दशवटै पालिकाहरूमा फागुन ११ देखि २१ गतेसम्म अभियान चलेको थियो । अभियानका क्रममा ७६ प्रतिशत अर्थात् ५ लाख २६ हजार ९९ जनाले औषधी सेवन गरेका छन् ।
अभियानका क्रममा ६ लाख ८७ हजार ७ सय ७६ जनसंख्यालाई औषधी खुवाउने लक्ष्य थियो । गत वर्ष जिल्लामा चलेको अभियानमा ६८ प्रतिशतले मात्र औषधी खाएका थिए । पटक–पटक जिल्लामा अभियान चले पनि लक्ष्य प्राप्त गर्न सकेको छैन ।
जिल्लामा यो पटक चलेको अभियान १३ औँ अभियान हो । अभियानका क्रममा जिल्लामा सबैभन्दा धेरै राप्ती गाउँपालिकामा ८२ प्रतिशत अर्थात ४३ हजार ७ सय ९९ जनाले औषधी सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।
राप्ती गाउँपलिकामा ५३ हजार ४ सय ७० जनसंख्या रहेको छ । घोराही उपमहानगरपालिकामा २ लाख ५ हजार ८ सय २७ जनसंख्यामध्य ७८ प्रतिशत अर्थात् १ लाख ६३ हजार ४ सय ९६ जना, गढवा गाउँपालिकामा ४७ हजार १ सय १४ मध्य ७९ प्रतिशत अर्थात ३७ हजार ४ सय ४६ जनाले औषधि खाएका छन् ।
बंगलाचुली गाउँपालिकामा २३ हजार ४ सय ५८ जनसंख्यामध्ये ७८ प्रतिशत अर्थात १८ हजार दुई सय ५४ जना, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा समान ७७÷७७ प्रतिशतले औषधी सेवन गरेका छन् ।
शान्तिनगरमा २८ हजार १ सय ६८ मध्य २१ हजार ६ सय ४७ जना र दंगशीरणमा २४ हजार ८० जनसंख्यामध्ये १ हजार ५ सय ९४ जनाले हात्तीपाइले बिरूद्धको औषधी सेवन छन् । यसैगरी तुलसीपुर उपमहानगर र लमही नगरपालिकामा ७६÷७६ प्रतिशतले खाएका छन् ।
तुलसीपुरमा रहेको १ लाख ८४ हजार ५ सय ३१ मध्ये १ लाख ४० हजार एक सय एक जना र लमहीमा रहेको ६० हजार १ सय ६३ जनसंख्यामध्ये ४५ हजार ६ सय २६ जनाले औषधि सेवन गरेका हुन् ।
बबई गाउँपालिकामा रहेको ३१ हजार ९ सय २२ जनसंख्यामध्ये ६४ प्रतिशत अर्थात २० हजार ५ सय ६ जना र राजपुर गाउँपालिकामा रहेको २९ हजार ४३ जनसंख्यामध्ये ५७ प्रतिशत अर्थात् १६ हजार ६ सय ३० जनाले औषधी सेवन गरेका छन् ।।