दाङ, २३ फागुन ।
घोराही उपमहानगरपालिकाले एक वडा, एक नमुना विद्यालय बनाउन प्रत्येक वडाबाट विद्यालय छनौट गरेको छ । शिक्षाको सुधार तथा शिक्षा क्षेत्रको विकासका लागि एक वडा, एक नमुना विद्यालय बनाउन लागिएको घोराही उपमहानगररपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयमा घट्दै गएको विद्यार्थी सङ्ख्या बढाउन समेत यसले सहयोग पुग्ने अपेक्षा छ । स्थानीय तहले आफ्नो पालिकामा शिक्षा क्षेत्रको सुधार तथा विकासका लागि एक वडा एक नमुना विद्यालय अगाडि बढाउन लागेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले बताउनुभयो ।
माध्यमिक विद्यालयसम्मको सञ्चालन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई नै छ । आउँदो शैक्षिक–सत्रदेखि नमुना विद्यालय बनाउन कार्यक्रम सुरु गरिने उहाँले बताउनुभयो । नमुना विद्यालयबाट अन्य विद्यालयले सिकेर अगाडि बढ्न सहयोग पुग्ने उहाको भनाइ छ ।
नमुना विद्यालयमा कक्षा १ भन्दा पहिले ३ वटा कक्षा सञ्चालन हुने छन् । अङ्ग्रेजी माध्यमबाट पढाइ सञ्चालन हुने छ । अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएमा बोर्डिङ स्कूलमा जाने विद्यार्थी सामुदायिक विद्यालयमा ल्याउन सहयोग पुग्ने छ ।।