काठमाण्डौ २३,फागुन ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई भोलि बुधवार सम्ममा काठमाण्डौ पुग्न निर्देशन दिएको छ ।
राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज बसेको बैठकले सबै मतदातालाई भोलि बिहान ११ बजेसम्म काठमाण्डौ पुग्न निर्देशन दिएको हो । सिंहदरबारमा बसेको बैठकपछि गठबन्धन कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठकमा यही २५ गते हुने राष्ट्रपति चुनावका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
त्यस्तै बैठकपछि नेकपा एकीकृत समाजवादी का महासचिव वेदुराम भुसालले बैठकमा गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
गठबन्धनमा रहेका नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पाटीले कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् । पर्सि फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र एमालेका नेता सुवासचन्द्र नेम्वाङले गएको १३ गते मनोनयन दर्ता गर्नुभएको थियो ।