२०८१ मङ्सिर २३ गते आइतवार

अलपत्र घोराही-तुलसीपुर चारलेन ठेक्का रद्द प्रक्रिया अघि वढ्यो



दाङ, २४ फागुन ।
स्तरोन्नतीको नाममा लामो समयदेखि अलपत्र दाङको घोराही-तुलसीपुर फोरलेन सडकको ठेक्का रद्द प्रक्रियाका लागि अघि बढेको छ । फोरलेन परियोजना कार्यालय लमहीले सोमबार सूचना प्रकाशित गरि ठेक्का रद्द गर्नकालागि १४ दिने सूचना जारी गरेको हो ।

ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको हो । परियोजना प्रमुख अनिश थापाका अनुसार यदि त्यसअबधीमा सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुने सूचनामा उल्लेख छ ।

चारलेन ठेक्काको पटक-पटक गरि चौथो पटक म्याद थप गरिएको थियो । त्यो अबधी २०८० असारसम्म छ । तर, यस अबधीमा ठेक्का लिएको कम्पनीले काम गर्न सक्ने सम्भावना कम रहेकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो ।

चारलेनको ठेक्का भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले लिएको छ । उक्त कम्पनीले पेटी ठेकेदार मार्फत काम गर्दै आएको थियो । यो बीचमा ८ जना पेटी ठेकेदारलाई काम दिएको भएपनि निर्माण सुरु भएको ५ बर्षसम्म पनि १० प्रतिशत भन्दा बढि काम हुन सकेको छैन् ।

मुख्य सडक नै अलपत्र बनेपछि जनप्रतिनिधि, बिभिन्न संघसंस्था तथा राजनीतिक दलले समयमा काम गर्न दवाव दिएका छन् । पटक(पटक ठेकेदार कम्पनीलाई तोकिएको अबधीमा काम सक्ने गरि लिखित कार्यतालिका र प्रतिबद्धता पेश गर्न परियोजना कार्यलयले सूचना जारी गरेको थियो । त्यसबीचमा ठेकेदार कम्पनीले लिखित र मौखिक प्रतिबद्धता जनाएपनि काम हुन सकेको छैन् ।

घोराही(तुलसीपुर चारलेनको काम २०७५ माघदेखि सुरु भएको हो । ३० महिनामा काम सक्ने गरि सम्झौता भयो । उक्त सडकमा अहिलेसम्म ८ जना पेटी ठेकेदार फरिएका छन् । चौथो पटक म्याद थप भइसकेको छ ।

पछिल्लो समय पुस १८ देखि बुटवलका सुनलिजंग राइमाझीले पेटी ठेक्का पाउनुभएको छ तर, उहाँले पनि काम अगाडी बढाउन सक्नुभएको छैन् । तोकिएको समयमा ठेक्काको ३० प्रतिशत काम नसकेकाले अहिले ठेकेदार कम्पनीलाई दैनिक करिब ३ लाख २१ हजार ९ सय नेपाली रुपैया जरिवाना गर्ने गरेको छ । कुल रकमको १० प्रतिशतसम्म जरिवाना हुने ब्यबस्था अनुसार ठेकेदार कम्पनीलाई जरिवाना गरिएको हो ।

चारलेन सडक अलपत्र हुँदा अहिले नागरिकले सास्ती खेप्नु परेको छ । सडकमा आवतजावत गर्दा यात्रुहरु, सडक वरपरका बासिन्दालगायतले निकै सास्ती खेप्नु परेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार