दाङ, २४ फागुन ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनकालागि अनुमति प्राप्त भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई विएनएसकालागि २० र विएससी नर्सिङका लागि २० सिट निर्धारण गरेको हो ।
आयोगको फागुन १४ गते बसेको बैठकले पठन–पाठनकालागि सिट निर्धारण गरेसंगै प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सुरु गर्न लागेको हो । अब प्रतिष्ठानमा शैक्षिक कार्यक्रम पठनपाठनको ढोका खुल्ला भएको अस्पतालका उपकुलपति डा. विकास लामिछानेले बताउनुभयो ।
प्रतिष्ठान बनेसंगै जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालन गर्नकालागि पहल थालिएको हो । तर, लामो समय सम्म शैक्षिक कार्यक्रम सञ्चालन नहुँदा यस क्षेत्रका नागरिक निराश थिए ।
पटक–पटक दवावमुलक कार्यक्रम पनि भएका थिए । अब भने दाङमा शैक्षिक कार्यक्रम सुरु भएसंगै दाङसहित साबिक राप्तीका विद्यार्थीहरुसमेत लाभाम्बित हुने उपकुलपति डा. लामिछानेले बताउनुभयो ।
प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रम सुरु हुन लागेको छ । यो संगै अब दाङसहित साबिक राप्तीलगायतका विद्यार्थीहरु लाभाम्बित हुनेछन् । कक्षा सञ्चालनकालागि आबश्यक पर्ने नर्सिङ प्राध्यापक नियुक्तीलगायत आबश्यक संरचना, लाइब्रेरी, कक्षा कोठा, अडोटोरियल रूमहरू तयारी अवस्थामा रहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगले अनुमति दिएसंगै अब भर्ना कार्यक्रम समेत अगाडी बढ्ने छ । प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएसंगै जिल्लाबासी खुसी भएका छन् ।।