२०८१ मङ्सिर २४ गते सोमवार

उत्खनन भएको स्थानमा अनुगमन गर्ने सहमतिपछि शान्तिनगरको विवाद मिल्यो



दाङ, २६ फागुन ।
दाङको शान्तिनगर गाउँपालिका– २ का वडाध्यक्ष सुनील वलीले पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्न खोजेको भन्दै उत्पन्न भएको विवाद समाधान भएको छ ।

गत शुक्रबार पालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कालाई चिया टेबल उठाएर हिर्काउन खोजेको भन्दै पालिकाका सबै कर्मचारीले सेवा ठप्प पारेका थिए ।

त्योसँगै बबई गाउँपालिकाका कर्मचारीले पनि हातमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरेका थिए भने दंगीशरण गाउँपालिकाका कर्मचारीले पनि यसको विरोध जनाएका थिए ।

शान्तिनगरको २ र ५ नम्बर वडामा पर्ने बहुला खोलाको विष्णुपुर घाटमा मापदण्डविपरीत उत्खनन भइरहेको भन्दै वडाध्यक्षले समाधानका लागि माग गर्दा सुनुवाइ नभएको भन्दै पालिकामा छलफलका क्रममा हातपातको अवस्थासम्म पुगेको थियो । विवादपछि त्यस क्षेत्रमा उत्खनन कार्य रोकिएको छ ।

बुधबार घोराहीमा भएको सहमतिअनुसार मापदण्डविपरीत उत्खनन भएको स्थानमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत निकायले अनुगमन गर्नेछन् । पालिका अध्यक्ष बस्नेतका अनुसार केही दिनमा ती निकायले अनुगमन गर्नेछन् ।

त्यसबाहेक पालिकाका कर्मचारीले ठप्प पारेको सेवा प्रवाह सञ्चालन गर्ने सहमति भएको छ । सोहीअनुसार हिजोदेखि कर्मचारीले काम थालेको पालिका अध्यक्ष बस्नेतको भनाइ छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार