दाङ, २६ फागुन ।
सरकारले १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियानलाई थप एक हप्ता निरन्तरता दिने भएको छ । यसअघि हिजोेसम्म औषधि खुवाउने भनिएपनि पाँच दिन समय थप गरेर अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अब आउँदो मङ्गलवारसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने छ । गएको ११ गतदेखि दाङ, कपिलवस्तु, बाँके, झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, र कैलालीमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने काम भइरहेको छ ।
औषधिले शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ ।।
प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार