२०८१ असोज १८ गते शुक्रवार

लुम्बिनी प्रदेशसभाको भवन नेपालकै नमुना



दाङ, १ चैत्र ।
लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीमा एक महिनाअघि निर्माण सम्पन्न भएको प्रदेश सभा भवन नेपालकै नमुना बनेको छ । प्रदेश सभाको बैठक भवन संरचना अरू प्रदेशको भन्दा फरक गरी नेपालकै नमुना बनाउने प्रयास गरिएको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले संसदीय मूल्यमान्यता र अन्तर्राष्ट्रिय अभ्यासका हिसाबले पनि यो प्रदेश सभा भवन उत्कृष्ट बनेको बताउनुभयो ।

नेपालको वर्तमान संसदीय व्यवस्थाको भावनाअनुरूप आकारप्रकार र संरचनागत व्यवस्थापनका हिसाबले पनि देशकै उत्कृष्ट नमुना संसद् भवन भएको प्रदेश सभा सचिवालयले दाबी गरेको छ । प्रदेश सभा भवनमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेता आमनेसामने अर्थात् सम्मुखमा रहने गरी अर्ध चन्द्राकार ढाँचामा संरचना बनाइएका कारण सत्तापक्ष र विपक्षमा रहेका सबैलाई सबैले देख्न सक्ने गरी नक्साङ्कन गरी सोहीअनुरूप कुर्सीको व्यवस्थापन गरिएको छ ।

प्रदेश सभा सचिव पुनमगरले प्रदेश सभा नियमावली ०७९ को नियम ६ मा उल्लेख भएअनुसार मुख्यमन्त्री, उपसभामुख, मन्त्रीहरू, विपक्षी दलका नेता र प्रदेश सभा सदस्यहरू बस्ने क्रम मिलाइएको बताउनुभयो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभाको रोलक्रम सुहाउँदो ढङ्गले सभा हलको आन्तरिक संरचना तयार गरिएको र अर्ध चन्द्राकार संरचनामा बसाइ क्रम मिलाइएको पुनमगरले बताउनुभयो । उहाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलहरूले सचिवालयलाई उपलब्ध गराएको प्रदेश सभा सदस्यहरूको नामावली र मर्यादाक्रमअनुसार क्रमागत रूपमा वरीयता कायम गरी सभामुखले निर्धारण गरेको स्थान र क्रममा बस्ने व्यवस्था गरिएको बताउनुभयो ।

प्रदेश सभा सचिव पुनमगरले विश्वका प्रजातान्त्रिक मुलुकमा गरिएका संसदीय अभ्यासको अध्ययन गरेर लुम्बिनी प्रदेश सभाको संसद् हल निर्माण गरिएको र निर्माणका क्रममा विश्वकै उत्कृष्ठ विधि र पद्धति अपनाइएको बताउनुभयो । प्रदेश सभामा सभामुखको दायाँपट्टि सत्तापक्ष र बायाँपट्टि प्रतिपक्ष बस्ने व्यवस्था गरिएको छ ।।

 

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार