२०८१ चैत्र ५ गते मङ्गलवार

फोहोर संकलन नहुँदा ग्याँस उत्पादनमा समस्या



दाङ ।
दाङको घोराहीमा फोहोर संकलन नहुँदा ग्याँस उत्पादनमा समस्या भएको छ । पर्याप्त फोहोर नहुँदा ग्याँस उत्पादन कम भएको र वितरण पनि गर्न नसकेको नेपाल ऊर्जा विकास कम्पनीका ग्याँस प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो ।

पर्याप्त ग्याँस उत्पादन नहुँदा सुरुमा गुरुवा गाउँका ३४ घरमा परीक्षणका लागि वितरण गरिएको ग्याँस पनि अहिले बन्द गरिएको छ । वायो ग्याँस प्लान्ट स्थापना भएको वर्ष दिन बितिसक्दा पनि स्थानियले ग्यास बाल्न पाएका छैनन् । ग्याँस पाइप जोडिएका ३४ घरका बासिन्दा फेरि पनि दाउरा र सिलिण्डर ग्याँसमा भर पर्न बाध्य भएका छन् ।

फोहोर संकलन नहुँदा ग्याँस उत्पादनमा समस्या भइरहेको नेपाल ऊर्जा विकास कम्पनीले बताएको छ । ग्याँस प्लान्टका लागि दैनिक २० टन फोहोर आवश्यक पर्छ तर अहिले आधा टन मात्र फोहोर उपलब्ध हुने गरेको छ । चाहिएजति फोहोर नहुँदा ग्याँस उत्पादन गर्न नसकेको उहाले बताउनुभयो ।

श्रेष्ठका अनुसार अहिले प्लान्टमा दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्याँस उत्पादन हुने गरेको छ । दैनिक ८ सयदेखि ९ सय घनमिटर ग्याँस उत्पादन गर्न सकेमात्रै लक्ष्यअनुसार ग्याँस वितरण गर्न सकिने श्रेष्ठको भनाइ छ । पहिलो चरणमा ७ सय ५० घरघुरीमा ग्याँस पु¥याउने लक्ष्य राखिएको थियो ।

उत्पादन बढेमा गुरुवा गाउँसँगै नारायणपुर बजारसम्म ग्याँस पु¥याउन सकिने कम्पनीले जनाएको छ । हाल घोराही–१६ को खिरट्टे गाउँमा पाइप विस्तारको काम भइरहेको छ ।

फोहोर उत्पादन गर्नका लागि सड्ने गल्ने फोहोर आवश्यक पर्छ । उपमहानगरबाट संकलन गरिएको फोहोर अपुग भइरहेकाले जिल्लाका अन्य पालिकाहरूबाट पनि फोहोर संकलनका लागि छलफल भइरहेको प्लान्ट म्यानेजर श्रेष्ठ बताउनुभयो ।

दाङमै पहिलोपटक फोहोरबाट ग्याँस उत्पादन गर्ने प्लान्ट निर्माणका लागि २०७५ मंसिर ५ गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको थियो । सो सम्झौता अनुसार घोराही उपमहानगरपालिका–१६ को करौतीडाँडामा २२ करोड लागतमा प्लान्ट स्थापना भएको थियो ।

ग्याँस उत्पादनका लागि कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता भएको छ । ग्याँस प्लान्टका लागि उपमहानगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । सम्झौताअनुसार कम्पनीले २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । २० वर्षका लागि कम्पनीले महानगरपालिकालाई ५ प्रतिशत रकम दिने गरी सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार