दाङ, ११ चैत ।
घोराही उपमहानगरकोे न्यायीक समितिले चालु बर्षमा ५७ वटा मुद्धा फछर्यौट गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को हालसम्म न्यायिक समितिमा सरि आएका २१ सहित १ सय ३ वटा मुद्धा दर्ता भएको थियो । जसमा ५७ वटा मुद्धा फछर्यौट भएको छ भने ४६ वटा प्रक्रियामा रहेको छ ।
घोराही उपमहानगरका उपप्रमुख तथा न्यायिक समितिका संयोजक हुमा डिसीका अनुसार सबैभन्दा बढी जग्गा विवादका २५ मुद्धामा १० वटा फछर्यौट भएको छ भने १५ वटा प्रक्रियामा रहेको छ । यसैगरी लालन पालनका १५, माना चामल २, पारिश्रमिक नदिएको २ रहेका छन् ।
यस्तै वातावरण प्रदुषण २, गाली बेईज्जती २, रुख हटाई पाउँ २, घर बहाल १, लनेदेन १५ र अन्य १६ वटा मुद्धा दर्ता भएको उहाँको भनाई छ । संचारिका समुह दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा उहाँले यस्तो जानकारी दिनु भएको हो ।
संयोजक डिसीले न्यायिक समिति मार्फत भएका कामहरुका बारेमा जानकारी गराउँदै महिलामुखिका कार्यक्रमलाई प्राथमिकतामा राख्दै त्यसको परिणाम देखिने गरेर काम गर्ने कुरामा जोड दिनु भएको छ । संचारिका समुह दाङ शाखाका अध्यक्ष सुलोचना गौतमको अध्यक्षता तथा न्यायिक समितिका संयोजक डिसीको प्रमुख आतिथ्यतामा साक्षात्कार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतम, निवर्तमान उपाध्यक्ष लिला शाह लगायत क्रियाशिल महिला पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संचारिका समुह दाङ शाखाका सचिव निरला अर्यालले गर्नुभएको हो ।।