दाङ, २ वैशाख ।
देशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि भएको छ । वन विभागको तथ्यांकअनुसार अहिले ९२ स्थानमा डढेलो लागिरहेको छ । तराईका विभिन्न भागका जंगलहरुमा डढेलो फैलिएको छ । चितवन, पर्सा प्युठान लगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराई, पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ ।
वन विभागको अनलाइन फायर अलर्ट गर्ने मोडिस प्रणाली अनुसार दाङका ६, प्युठानका १५ , चितवनका १४ र पर्साका १० मा डढेलो लागिरहेको छ । पाल्पाका ७, र गोर्खाका ५ स्थानमा डढेलो सक्रिय छ । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दै गएको छ ।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, स्थानीय प्रहरी प्रशासन, सेना, वन समूहहरू बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा उदासीन देखिएका छन् । वन डढेलो नियन्त्रणको लागि सरोकारवाला निकायहरुसँग हातेमालो गर्न आमसमुदायलाई विभागले आग्रह गरेको छ ।।