२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा एक लाख बढीलाई भिटामिन ए र जुकाको औषधि खुवाईदै



दाङ, ६ बैशाख ।
दाङसहित देशभर आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय दाङले अनुरोध गरेको छ ।

आज खान छुटेका बालबालिकालाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

दाङमा पनि एक लाख बढी बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै छ । जिल्लामा ५२ हजार १७७ जना बालबालिकाले भिटामिन ए र ४६ हजार ४५५ जना बालबालिकाले जुकाको औषधि खाने स्वास्थ्य कार्यालय दाङका पोषण फोकल पर्सन सीता कुँवरले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधिसंगै बाल भिटा पनि खुवाउन लागिएको उहाँले बताउनुभयो । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ । जुकाको औषधि २०५६ सालदेखि खुवाउन थालिएको हो ।

प्रकाशित मिति : २०८० बैशाख ६ गते बुधवार