२०८१ मङ्सिर २४ गते सोमवार

कपुरकोट गाउँपालिकाको एक वर्षे मूख्य उपलब्धि सार्वजनिक



सल्यान, ८ जेठ ।

सल्यानको कपुरकोट गाउँपालिकाले एक वर्षमा गरेका कामको उपलब्धि सार्वजनिक गरेको छ । गाउँपालिकामा दास्रो कार्यकालका लागि गतवर्ष बैशाखमा निर्वाचित जनप्रतिनिधिले एक वर्षको अवधिमा गरेका मूख्य उपलब्धि सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले मूख्य उपलब्धिमा अध्याँरोमुक्त पालिकाका लागि विद्युतिकरणको योजनादेखि बालविवाह न्युनिकरणलाई उपलब्धिको रुपमा लिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।

गाउँपालिकाका ६ वटै वडामा विद्युत नपुगेका वस्तीमा करिब दुई वर्षभित्र विद्युत विस्तार गर्ने योजना अनुरुप काम अघि बढेको उहाँले बताउनुभयो ।

गाउँपालिकामा विद्युतिकरणका लागि चालुवर्षमा नेपाल विद्युत प्राधिकरणसंग सात करोड बराबरको विद्युतिकरण कार्यक्रम सम्झौता गरेको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

सोमबार एक वर्षे उपलब्धि सार्वजनिक गर्दै अध्यक्ष पुनले कपुरकोट गाउँपालिकालाई पाँच वर्षभित्रमा समृद्ध बनाउनका लागि बालविवाह न्युनिकरणको अभियानदेखि कपुरकोटको तरकारीलाई ब्राण्डीङ गर्ने योजनालाई अघि सारिएको बताउनुभयो ।

विवाह गर्दा वडाको सिफारिस लिनुपर्ने व्यवस्था गर्ने कपुरकोट गाउँपालिका पहिलो पालिका बनेको अध्यक्ष पुनले बताउनुभयो । यस्तै कपुरकोटको तरकारीलाई हरेक भान्सामा लैजानका लागि १२ बुँदे घोषणा पत्र जारी गरिएको, एक वर्षे मूख्य उपलब्धिमा गाउँपालिकाका सबै स्वास्थ्यसंस्थाबाट सार्वजनिक विदाका दिनमा पनि उपचार पाउने व्यवस्था गरेको, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई घरदैलोमै पुगेर नियमित स्वास्थ्य परिक्षण गर्ने गरेको र सामान्य औषधिको व्यवस्था गरेको, सुत्केरी हुने आमालाई सहजताका लागि सबै वडामा वर्थिङ सेन्टरको व्यवस्था गरेको, पालिकाभित्र निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको अध्यक्ष पुनले बताउनुभयो ।

एकिकृत योजनाको अवधारणलाई साकार पार्न टुक्रे योजना ५० प्रतिशत कम गरेको, योजना सम्झौता र बैंकिङ खाता संचालन वडाबाटै हुने गरेको, भुक्तानी प्रक्रियामा सबै पक्षलाई जिम्मेवार बनाउन योजना सम्पन्न भएपश्चात् भुक्तानी हुनुपूर्व सात दिनभित्र दावि विरोधका लागि सार्वजनिक सुचना जारी गर्ने गरिएको उहाँले बताउनुभयो ।

राजश्व र योजना व्यवस्थापन अनलाईनबाट शुरु गरिएकोलाई मूख्य उपलब्धिको रुपमा लिईएको छ । यस्तै कर्मचारी पदपुर्ती गर्दा योग्यता र क्षमताको आधारमा प्रतिष्पर्धा गर्न सक्ने वातवरण सिर्जना गरी लोक सेवा र शिक्षक सेवा आयोगकको परिक्षा प्रणाली लागु गरी स्वच्छ र निष्पक्षरुपमा कर्मचारी छनौट गर्ने गरेको, गाउँ प्रहरी ऐन जारी गरी प्रहरी सेवा गठन गरी सुरक्षा, विपद व्यवस्थापन र राजश्व संकलनमा परिचालन गरिएको, शैक्षिक सुधारका लागि पञ्चवर्षिय गाउँ शिक्षा योजना र शैक्षिक पश्र्वचित्र योजना निर्माण गरिएको, कक्षा १ देखि ८ सम्म हाम्रो कपु्रकोट नामक स्थानीय पाठ्यक्रम लागु गरिएको, पालिकाभित्र दक्ष जनशक्ति उत्पादन र प्रतिष्पर्धि जनशक्तिका लागि निशुल्क लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गरेको अध्यक्ष पुनले बताउनुभयो ।

यस्तै गाउँपालिकाको पाँच वर्षे आवधिक योजनाको निर्माण र मध्यावधि खर्च संरचना निर्माण अन्तिम चरणमा रहेको, गाउँपालिकामा चालु आर्थिकवर्षमा १८ वटा नयाँ ऐन-कानुन तयार गरी कार्यान्वयनमा आएको, पूर्वाधारका योजना चालुवर्षमा ८२ दशमलव २० प्रतिशत काम भएको उपलब्धिको रुपमा सार्वजनिक गरिएको छ ।

यस्तै ११८वटा सम्झौता भएको, ९७ वटा सम्पन्न भएको र २१ वटा सम्पन्न हुने चरणमा रहेको अध्यक्ष पुनले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रकाश भण्डारीले न्यायिक समिति परेका मुद्धालाई दुवै पक्षलाई जितको महशुस हुने गरी जतिसक्दो छिटो टुंग्याउने गरेको बताउनुभयो ।

‘न्यायिक समितिको क्षेत्राअधिकारभित्र पर्ने बाहेकका मुद्धा पनि आउछन्, तर हामीलाई त्यस्ता मुद्धा हेर्ने अधिकार नभएकाले सम्बन्धित निकायको बारेमा जानकारी गराई पठाउने गरेका छौँ ।’ उहाँले भन्नुभयो–‘नागरिकको चाहना अनुसार न्यायिक समितिबाट कार्यसम्पादन हुने गरेको छ ।’

गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले गाउँपालिकाको कार्यालयबाट योजना सम्झौता गरिरहेको  भएतापनि जनप्रतिनिधिको चाहना र नागरिकको सुविधाका लागि गाउँपालिकाले पहिलोपटक वडास्तरमै गएर योजना सम्झौता गरिएको बताउनुभयो । उहाँले वडास्तरबाटै योजना सम्झौता हुन थालेपछि नागरिकलाई गाउँपालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार