तुलसीपुर, १२ जेठ ।
तुलसीपुर-४ मा रहेको हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्वका लागि आगामी जेठ २० गते शनिबार निर्वाचन हुने भएको छ । खानेपानीको नयाँ नेतृत्वको लागि अध्यक्ष र सचिव पदमा सहमती जुट्न नसकेपछि निर्वाचन हुन लागेको हो ।
खानेपानीको आगामी नेतृत्वमा अध्यक्ष पदका लागि चार जनाको उमेदवारी परेको छ भने सचिवमा दुई जनाको उमेदवारी परेको छ । अध्यक्षका लागि रगबिर घर्ती, प्रभात थापा, बविन देवकोटा र प्रकाश आचार्यको उमेदवारी परेको निर्वाचन समितिका संयोजक फणिन्द्र कुमार भट्टराईले जानकारी दिनुभयो।
यस्तै सचिव पदका लागि चन्द्र बहादुर केसी र ओमकान्त रिजालको उमेदवारी परेको संयोजक भट्टराईले बताउनुभयो । निर्वाचन कार्यतालिका अनुसार जेठ १४ गते बिहान सात बजे मतदाताको नामावली प्रकाशन, सोहि दिन बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म मतदाता नामावली उपर दावि विरोध, जेठ १५ गते बिहान ७ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
यस्तै जेठ १५ गते बिहान ८ बजे उमेदवारको नामावली प्रकाशन, सोहि दिन बिहान ८ बजेर ५ मिनेटदेखि साढे ९ बजेसम्म उमेदवारको नामावलीमा दावि विरोध, बिहान १० बजे उमेदवारको संसोधित तथा अन्तिम नामावली प्रकाशन, सोहि दिन बिहान सवा १० बजेदेखि ११ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ ।
यस्तै सोहि दिन बिहान सवा ११ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन र जेठ २० गते बिहान ८ बजेदेखि दिउँसो दुई बजेसम्म खानेपानी भवनमा मतदान हुने निर्वाचन संयोजक भट्टराईले बताउनुभयो । मतदाताले मतदान गर्न आउँदा नागरिकता प्रमाणपत्र अनिवार्य गरिएको निर्वाचन समितिले जनाएको छ ।
खानेपानी संस्थाको अन्य पदमा भने निर्विरोध भइसकेको छ । संस्थाको उपाध्यक्षमा यमलाल पार्धे, कोषाध्यक्षमा शोभा खनाल, सदस्यमा गोविन्दराज भण्डारी, यमप्रसाद लामिछाने, हरिबहादुर खड्का, नवराज कडेँल, टुकप्रसाद पोखरेल, चुणर्बहादुर नेपाली, माया चौधरी, मनकुमारी विक, तर्ताल देवकोटा, हरिलाल बुढाथोकी र देविराम भण्डारी चयन भइसक्नुभएको छ ।