२०८१ असोज १९ गते शनिवार

समाजसेवी दिपक वलीको पहलमा तुलसीले पाईन नयाँ घर



माइलीपानी, ३० जेठ ।
वारीपारी चारैतिर बन । कहिँकतै मात्रै देख्न सकिन्छ घर । छेउमा सुख्खा खोला । कच्ची सडकको पश्चिमतिर छेउमा छ तुलसी बिकको घर ।

खरले छाएको सानो घर । भत्किनै लागेको भित्ता ।शारिरीक रुपमा अशक्त पनि छिन् तुलसी ।वर्षामा झरी लाग्दा भत्किने डरले ढुक्कले सुत्न सक्ने अवस्था थिएन । श्रीमान साथमा छैनन् ।

श्रीमानले अर्को श्रीमती बिहे गरेर गएपछि बेसाहारा बनेकी तुलसीलाई खाने जुटाउनै मूस्किल छ । घर बनाउनुको उनलाई सपना जस्तै थियो ।साँझ बिहानको छाक टार्न सहयोग माग्नुपर्ने अवस्थामा घर बनाउन सक्ने अवस्था थिएन ।

आर्थिक रुपमा कमजोर हुँदा ओत लाग्ने घर समेत राम्रो थिएन । तुलसीलाई हिउँदमा जसोतसो गुजारा चलेपनि वर्षायाममा दिन कसरी कटाउने भन्ने चिन्ता थियो ।

घर बनाउनका लागि गाउँका अगुवालाई गुहारिन् । स्थानीय सरकारसम्म पनि पुगिन् । स्थानीय सरकारले घरमा लगाउने जस्ताबाहेक अरु उपलब्ध गराउने अवस्था भएन ।

अनि उनलाई गाउँकै छिमेकी बेलमती बिक लामाले समाजसेवी एवं सयपत्री दोहोरी घरका संचालक दिपक वली संग तुलसीको घर बनाएर सहयोग गर्न अनुरोध गरिन् ।

तुलसीलाई घरमा खाद्यान्न सहयोग गर्न पुगेका वलीले घरको अवस्था देखेपछि त्यसै फर्किन सकेकनन् ।तुलसीको घर जसरी नि बनाउनुपर्छ भन्ने वलीलाई सोच आयो । वलीले करिब दुई महिनाअघिबाट तुलसीको घर बनाउनका लागि पहल गरे ।

शान्तिनगर गाउँपालिकाको जस्तापाता, स्थानीय बनको काठपातसहित सहयोगमा उनको घर निर्माण भयो । अहिले तुलसीको दुई कोठे टिनले छाएको घर बनेको छ ।तुलसीलाई अब वर्षा होस्, या हिउँदामा ढुक्कले निदाउन पाउने घर बनेको छ । बेसाहारा बनेकी तुलसीको नयाँ घर बनेपछि फुरुङ छिन् ।

‘श्रीमानले अर्को श्रीमान लिएर छुट्टै बस्न थालेको धेरै भयो, यस्तो अवस्थामा मैले नयाँ घर बनाउने त के, साँझ बिहानको छाक टार्न सक्ने अवस्था थिएन् । ’ उनले भनिन्–‘तर कोहि नहुनेको भगवान् हुन्छ भन्थे, हो रहेछ ।’

नयाँ घर पाएपछि उनले नयाँ जीवन पाएको जस्तै अनुभव भएको बताईन् । ‘अब वर्षामा पनि ढुक्कले निदाउन सकिने भयो ।’ उनले भनिन्–‘यस्तो घर मैले कैले बनाउथेँ होला र ?

समाजसेवी वलीको पहलमा बनेको दुई कोठे घर मंगलबार तुलसीलाई हस्तान्तरण गरिएको छ । शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले तुलसीलाई नयाँ घरको साँचो हस्तान्तरण गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष बस्नेतले तुलसीको नयाँ घरमा विद्युत विस्तारका लागि विद्युतिय मिटरमा व्यक्तिगत रुपमा आवश्यक सहयोग गर्ने बताए ।

‘विद्युतीय मिटरका लागि म व्यक्तिगत रुपमा सहयोग गर्दछु ।’ उनले भने–‘तुलसीलाई आयआर्जनका लागि पनि स्थानीय सरकारले सहयोग गर्नेछ ।’

यस्तै गाउँपालिकाले तुलसीको घरसम्म खानेपानी विस्तारमा पनि सहयोग गर्ने अध्यक्ष बस्नेतले प्रतिवद्धता जनाए ।

‘खानेपानी विस्तारका लागि गाउँपालिकाले तत्काल खानेपानीको पाईप उपलब्ध गराउँछ ।’ उनले भने–‘खानेपानीको जतिसक्दो छिटो समाधान गछौँ ।’

शान्तिनगर गाउँपालिका वडा नम्बर ३ माइलीपानी निवासी विकको घर १ लाख ७४ हजार ८ सयमा निर्माण गरिएको घर निर्माण नेतृत्वकर्ता तथा सयपत्री दोहोरी घरका संचालक वलीले बताए ।

गाउँपालिकासहित विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिएको उनले बताए । ‘घर निर्माणका लागि १ लाख ७४ हजार बढी खर्च भएको छ ।’ उनले भने–‘घर निर्माण गर्दा अझै ४५ हजार बढी घाटामा छौ ।’

उनले घर निर्माणमा आर्थिक तथा भौतिक सहयोग गर्ने सबैमा हार्दिक आभार समेत प्रकट गरेका छन् ।‘विपन्नको परिवारको घर बनाउन सहयोग गर्ने सबैमा हार्दिक आभार प्रकट गर्दछु ।’ उनले भने–‘अब तुलसीपुर–१६ मा पनि दुवै मृगौला फेल भएर समस्यामा परेकी हरिमाया बिकको घर बनाउदै छौँ ।’

समाजसेवी तथा सयपत्री दोहोरी घरका संचालक वलीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका अध्यक्ष बस्नेतको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण कार्यक्रम भएको हो ।

त्यस अवसरमा वडा नम्बर ३ का अध्यक्ष गाउँपालिकाका प्रवक्ता मिन बहादुर केसी, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल लगायतले सहाराबिहिन तुलसीलाई घर बनाउन सहयोग गर्ने सबै व्यक्तिको महान कार्य रहेको बताए ।

दियालो अनलाइनका सम्पादक केपी वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गरेका हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार