दाङ, ३१ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालभित्रै गुणस्तरिय शिक्षाको विकासमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गुणस्तरिय शिक्षाको विकास एवं प्रर्वद्धनका लागि विश्वविद्यालयबिचको समन्वय र प्रतिष्पर्धालाई बढवा दिन तयार रहेको बताउनुभयो ।
कुलपति समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने सरकारको नीति रहेको भन्दै विश्वविद्यालयहरूको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउने बताउनुभयो ।
उहाँले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत् गर्ने व्यवस्था मिलाउन पनि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले देशमा अनादिकालदेखि चलिआएका रीतिरिवाज, संस्कृति र सभ्यताहरू सबै संस्कृत वाङ्मयसँग जोडिएको बताउनुभयो । विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री राइले संस्कृत वाङ्मयको समुचित अध्ययन, अनुशीलन र प्रचारप्रसार विना हाम्रो संस्कृति एवम् सभ्यता जीवित रहन नसक्ने बताउँदै नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो स्थापना कालदेखि नै संस्कृत वाङ्मयको संरक्षण र संवर्धन गरिरहेको बताउनुभयो ।
सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक डा. हरेराम त्रिपाठीले नेपाल र भारतमा संस्कृतको महत्त्व समानरूपमा रहेको बताउनुभयो । उहाँले दुवै राष्ट्रमा संस्कृत शिक्षाको विकासका लागि धेरै शैक्षिक कार्यहरू गर्न सकिने बताउनुभयो ।
१२ वर्षपछि भएको दिक्षान्त समारोहमा ५७५ जना विद्यार्थी दीक्षित भएका छन् । शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना विक्षार्थी दीक्षित भएका छन् । यस्तै ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गरिएको छ ।।